संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपाल अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौँ, संयुक्त राष्ट्रसङ्घको सहकार्यमा नेपालले आगामी जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदान प्रदान गर्न नेपालले उक्त कार्यक्रम गर्न लागेको हो । नेपालले विश्वशान्ति स्थापनाका लागि विगतमा गरेका प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसङ्घ सचिवालय मातहतको परिचालन सहयोग विभाग तथा सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा सातौँ सस्करणको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न लागिएको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिनुभयो ।

गोष्ठीमा संयुक्त राष्ट्रसङ्घ, शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषयविज्ञसमेत गरी करिब तीन सयको सहभागिता रहने छ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतीकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ । राष्ट्रसङ्घको आह्वानमा हालसम्म एक लाख ४४ हजार पाँच सय ६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पु¥याइसकेका छन् । यस क्रममा ७२ जनाले बीरगति प्राप्त गर्नुका साथै ६६ जना गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा पाँच सय छ महिलासहित छ हजार ५९ सैनिक परिचालित छन् ।

उक्त कार्यक्रम राष्ट्रसङ्घलगायत साझेदार पक्षका अनुभवका आधारमा शान्ति मिसनका कार्यदेशलाई वर्तमान र भविष्यमा प्रभाकारी तुल्याउन डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता तथा संयन्त्र विकास गर्ने सन्दर्भमा महत्वपूर्ण सावित हुने अपेक्षा लिइएको छ । सूचना प्रविधिका विषयमा सदस्य राष्ट्रबीच सहयोग र सहकार्यका लागि छलफल गर्ने उद्देश्यले सन् २०१४ मा इटालीबाट सुरु भएको यस्तो कार्यक्रम संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेना खटाउने मुलुकमा पालैपालो प्रत्येक वर्ष आयोजना गरिँदैआएको छ ।

यसअघि अष्ट्रिया, दक्षिण कोरिया, जर्मनी, कजाकिस्तान र दक्षिण अफ्रिकामा कार्यक्रम भएको थियो । विश्वमा धेरै शान्ति सेना खटाउने मुलुकको सूचीमा हाल नेपाल दोस्रो बरियतामा छ । यस्ता कार्यक्रम आयोजना गर्ने अवसर प्राप्त हुनु नेपालका लागि उचित मौका र राष्ट्रिय प्रतिष्ठाको विषय भएको मन्त्रालयले जनाएको छ । विश्वशान्ति कार्यमा नेपालको योगदान ठूलो भएको तर यस्ता खाले कार्यक्रम यसअघि नेपालमा नभएकाले पनि गोष्ठी महत्वपूर्ण रहने प्रवक्ता पौडेल बताउनुहुन्छ ।

कार्यक्रमका सन्दर्भमा निर्देशक र व्यवस्थापन समिति गठन भइसकेको छ । गोष्ठीमा संयुक्त राष्ट्रसङ्घका उपमहासचिवस्तरका प्रतिनिधिको सहभागिता रहनेछ । मानवीय, वातावरणीय, आर्थिकलगायत सुरक्षाको पाटोमा समेत त्यस अवसरमा गहन छलफल हुने बताइएको छ । कार्यक्रमले शान्ति स्थापना कार्यमा भोगिरहेका जटिल चुनौतीबारे अन्तर्दृष्टि प्रदान गर्नुका साथै शान्ति मिसन, ग्लोवल सेवा केन्द्र र राष्ट्रसङ्घ मुख्यालयका प्रतिनिधिसँग संवाद र सहकार्यको समेत अवसर प्रदान गर्नेछ ।

नेपाली सेनाको अग्रणी भूमिका, क्षमता अभिवृद्धि र मुलुकको प्रतिष्ठा वृद्धिमा यसले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । नेपालको शान्ति कार्यमा हालसम्मको भूमिका र योगदानलाई कदर गर्दै राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय कार्यक्रम गर्न सहकार्य गरेको हो ।

यसैबीच, नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको १५औँ बैठकको नेपालले तयारी गरिरहेको छ । बैठकका लागि निर्देशक समिति र व्यवस्थापन समितिको गठन भए पनि मिति र एजेण्डा तय गर्न भारतीय पक्षसँग समन्वय भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । यसअघि यस्तो बैठक नेपाल र भारतमा आलोपालो गरी हुँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्