विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

नेपालगञ्ज, नेपालगञ्जमा भूकम्पलगायत प्राकृतिक विपद्को जोखिममा रहेका बस्तीको भौगोलिक सूचना प्रणाली (जिपिएस) मार्फत नक्साङ्कन गरिएको छ । नेपालगञ्ज उपमहानगर–३ र ७ का बस्तीको जिपिएस विधिबाट नक्साङ्कन गरिएको नेपाल रेडक्रस सोसाइटी बाँकेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन वुमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोग र सिडिएमको सहभागितामा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाअन्तर्गत भूकम्प, बाढी, आगलागीलगायत विपद्बाट जोखिमयुक्त बस्तीको नक्साङ्कन गरिएको हो ।

नेपाल रेडक्रसका बाँके जिल्ला शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले विपद्सँग जुध्न पूर्वतयारीका लागि जोखिमयुक्त बस्तीहरुको सूक्ष्म तरिकाले अध्ययन गरेर नक्साङ्कन भएको बताउनुभयो । “कुन बस्ती के कारणले जोखिममा छ ? कुन सुरक्षित छ ? कहाँ घना बस्ती छ ? कहाँ साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स जान सक्दैन भन्नेबारे नक्साङ्न भएकाले यसैको आधारमा विपद् व्यवस्थापन गरिनेछ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रशान्त विष्टले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि स्रोत नक्साङ्कन अति नै जरुरी रहेको जनाउँदै यसले विपद्सँग जुध्न सहज हुने बताउनुभयो । नक्साङ्कनलाई अन्तिम रुप दिएपछि नेपालगञ्ज उपमहानगरपालिका, सरोकारवाला निकाय र सङ्घसंस्थालाई हस्तान्तरण गरिने परियोजनाको योजना रहेको प्राविधिक अधिकृत नरेश निदालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array