आलेखः हिमपात नहुँदा जनजीवन प्रभावित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
7 Min Read
Aa

फुङ्लिङ,  समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो ।

शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुग्नुभएको होइन, हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त कहिले काठमाडौँ पुग्ने गर्नुहुन्छ । हिमपात हँुदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुग्नुभएको छ । पेमा र उटुकजस्तै गाउँका अधिकांश हिउँ छल्न अन्यत्र गएपछि यहाँ बस्ती सुनसान जस्तै बनेको छ ।

मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती अहिले रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा हिमपात छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको हो । विगत वर्षहरुमा मङ्सिरको तेस्रो सातादेखि नै यस तोक्पेगोलामा बस्तीमा हिमपात सुरु हुन्थ्यो । वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार हिमपात हुँदा अत्यधिक चिसो हुने हुँदा हिउँ छल्नका लागि हिउँदभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ ।

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न सदरमुकामदेखि काठमाडौँ पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउनुहुन्छ । शेर्पाका अनुसार घुन्सा गाउँका ३३ घरपरिवारमध्ये मङ्सिर सुरु भएसँगै २० घरपरिवार अन्यत्र गइसकेका छन् । अहिले १३ परिवार मात्र गाउँमा छन् । यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालन हो ।

चिसोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखर अवलोकन गर्न आउने पर्यटको आगमन पनि यतिबेला ठप्प छ । चौँरी याक गोठ हुनेहरु मात्र गाउँमा बसेका छन् । गर्मीयाम सुरु भएपछि उनीहरु गाउँ फर्किने गर्दछन् । विगतका वर्षहरुमा हिमाली क्षेत्रमा मङ्सिरको तेस्रो सातादेखि हिमपात सुरु हुन्थ्यो । हिउँले छोपिएर हिमालहरु सेताम्य हुन्थो । तर अहिले माघ सकिन लाग्दासमेत हिमाली क्षेत्रहरुमा हिमपात भएको छैन । कञ्चनजङ्घा हिमशिखर कालो चट्टान जस्तै देखिएको छ ।

ताम्लिङ शेर्पा बिहानको घाम ताप्दै कञ्चनजङ्घा हिमालतिर हेरेर टोलाउँदै हुनुहुन्थो । उहाँ समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो शेर्पाको घर । याङमा जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आउनुभएको हो ।

उहाँको पुख्र्यौली पेसा पशुपालन हो । उच्च हिमाली क्षेत्र भएकाले याङमा गाउँमा चौँरी याकपालनका लागि अनुकूल क्षेत्र हो । यस क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत भने चौँरी याक गोठ हो । समयमै हिमपात र वर्षा नहुँदा पानी मुहान सुक्ने तथा हिउँ पग्लेपछि हिमताल सुक्न गई पानीको हाहाकार हुने हो कि भन्ने चिन्ताले सताउन थालेको स्थानीय फिन्सो शेर्पाको भनाइ छ । सुक्खा मौसम भएपछि घाँसपात नउम्रने भएकाले चौँरी याक चरनमा समस्या आउने चिन्ता लागेको उहाँ बताउनुहुन्छ ।

उहाँँ भन्नुहुन्छ, “हिउँ पग्लेर हिमाल सुक्खा हुन थाल्यो । हिमाल सुक्खा भयो भने पानीको मुहानहरु सुक्छ । चौँरी याकहरुले पानी खान पाउँदैन । जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन । घाँस नभएपछि चौँरी याकहरु तिर्खा र भोकले मर्नेछन् ।” उच्च हिमाली स्थान भएकाले अन्न नहुने भएकाले यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत पशुपालन हो ।

“हिमालमा हिउँ पग्लँदै गएको छ । खेतबारीहरु सुक्खा हुँदैछ”, फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले भन्नुभयो, “बारीमा जौ, गहँुमा बाला लाग्न नपाई सुक्दै गएको छ ।” पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खडेरीबाट अलैँची बगान जोगाउन बिहान–बेलुका पाइपबाट सिँचाइ गर्नु परेको उहाँले सुनाउनुभयो । हिमपात र वर्षा नहुँदा हिउँदे बाली नाली सुक्दै गएको सिरिजङ्घा गाउँपालिका–५ मामाङ्खे टीका माबोले बताउनुभयो । उहाँले भन्नुभयो, “खरेडीबाट हिउँदे बाली र अलैँची जोगाउन मुस्किल भएको छ ।”

विगतका वर्षहरुमा मङ्सिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थो । समयमा हिपात र वर्षा नहुँदा वैशाख र जेठ महिनामा असिना पर्छ भन्ने चिन्ता लागेको फुक्ताङलुङ गाउँपालिका–६ मादिबुङका सन्तकुमार फेम्बूले बताउनुभयो । समयमा हिमपता नहुँदा तथा कम हिमपात हुँदा असिना ज्यादा पर्छ भन्ने जनविश्वास रहेको फेम्बूले बताउनुभयो । सदरमुकाम फुङ्लिङमा भने बिहानदेखि बेलुकासम्म हुस्सु लाग्ने गरेको छ ।

हिमालमा स्नो लाइन (हिम रेखा) भन्दा माथिसम्म हिउँ पग्लँदै गइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक सूर्यमान राईले बताउनुभयो । राईले भन्नुभयो, “जलवायु परिर्वनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ ।” कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्रमा विश्वकै दुर्लभ जनवार हिउँचितुवाको विशेष बासस्थान मानिन्छ । हिउँ पग्लँदै गएपछि हिउँचितुवासमेत सङ्कटमा पर्न सक्ने राईले चिन्ता व्यक्त गर्नुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र विश्व संरक्षण कोष (डब्लुडब्लुएफ), नेपालले सन् २०१५ मा हिउँचितुवालाई रेडियो कलर गरेको थियो । त्यस समयमा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको विभागले जनाएको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । हिमतालहरु सुक्ने, पानीको मुहानहरु सुक्दै जाने, वन जङ्गल सुक्खा हुने भएकाले ढडेलो लाग्ने ठूलो सम्भावना रहेको उहाँको भनाइ छ ।

कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्न समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । समउमा हिउँ नपर्दा हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने विदेशी पर्यटकहरु आउँदैन कि भन्ने चिन्ताले पर्यटन व्यवसायी सेराप शेर्पालाई सताएको छ ।

कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानोठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ्ग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो ।

विगतका वर्षमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान भएको छ । गत भदौदेखि मङ्सिरसम्म जम्मा चार सय ३९ जना बाह्य पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गर्न पुगेको परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुुभयो । लिम्बूका अनुसार मङ्सिरयता भने पर्यटकको आगमन शून्य रहेको छ ।

गत २०७६÷७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । विसं २०५७ देखि २०७७ सम्म ११ हजार एक सय ९७ विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array