युरोपेली सङ्घका आयुक्त उर्पिलाइनेन भेटवार्तामा व्यस्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं ।अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नुहुनेछ ।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि भ्रमणमा आउनुभएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवद्र्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउनुहुनेछ ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्नहुनेछ । यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array