चिकित्सकमाथि दुव्र्यवहार गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीलाई कारबाही गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको उपचारको व्यवस्था गर्न र उक्त घटनाको छानबिन गरी चिकित्सकमाथि हातपात र दुव्र्यवहार गर्ने तथा निर्देशन दिने सुरक्षाकर्मीमाथि कारबाही गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले कुटपिट गरेका थिए । आयोगले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ मा समयसापेक्ष परिमार्जन गरी सवारी सुरक्षालाई चुस्त बनाउन, विशिष्ट व्यक्तिको सवारीका बेला आम सर्वसाधारणलाई पर्नसक्ने प्रभावबारे गम्भीर बन्नसमेत सरकारलाई आग्रह गरेको छ ।

चिकित्सकमाथि हातपात भएको घटनालाई लिएर चिकित्सकहरूले अस्पतालहरूमा उपचार सेवा बन्द गर्दा हजारौँ बिरामीहरू उपचार सेवाबाट वञ्चित हुनु परेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाइएको छ । आयोगले प्रहरी अनुसन्धानका क्रममा गरिने स्वास्थ्य परीक्षण समयमै नगर्दा प्रमाण लोपसमेत हुन सक्ने र समयमै उपचार नहुँदा गम्भीर प्रकृतिका बिरामीका स्वास्थ्यसमेत जोखिममा पर्ने हुँदा स्वास्थ सेवा जस्तो अत्यावश्यक सेवा बन्द नगर्न चिकित्सकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्