भारतीय विदेश सचिव क्वात्रा नेपाल आउनुहुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ, परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।

उहाँले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव क्वात्रा आज बिहान काठमाडौँ आइपुग्नुहुने यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुहुनेछ । सो अवसरमा उहाँहरुबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उहाँको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्