आन्दोलनरत यातायात मजदुरलाई वार्ताका लागि आह्वान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।

ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका हुन् । आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका छन् ।

बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले हिजो सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।

आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिनुभयो । विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array