पूर्वानुमान गरी तयारी हालतमा रहन प्रहरी महानिरीक्षकको निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ,  प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुुपर्ने बताउनुभएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उहाँले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रुपमा सम्पादन गर्न निर्देशन पनि दिनुभएको छ । उहाँले हालैका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन पनि उपत्यकाका प्रहरीहरुलाई निर्देशन दिनुभयो ।

आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको जनाउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।” उहाँले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने बताउनुभयो ।

उहाँले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि आग्रह गर्नुभयो ।

समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले सङ्गठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालयअन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array