राजश्वको दर घटाउने,दायरा बढाउने नीतिको प्रभाव : तारकेश्वर १०मा ७ महिनामा ९७ लाख राजश्व संकलन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिकाले राजश्वको दायरा फराकीलो गराँउदै राजश्वको दर घटाउने नीति लिएसंगै नगरपालिकाका वडाहरुमा राजश्व संकलन उल्लेख्य रुपमा बृद्धि भइरहेको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० मा मात्र चालु आर्थिक बर्षको ७ महिनामा झण्डै एक करोडको राजश्व संकलन भएको छ । उपत्यकाका अन्य स्थानीय निकायहरुको तुलनामा तारकेश्वर नगरपालिकामा राजश्वका दरहरु बढी भएको जनताको गुनासोका आधारमा निर्वाचीत भएलगतै नगरप्रमुख कृष्ण हरि महर्जनले राजश्वको दायरा बढाँउदै राजश्वका दरहरु घटाउने घोषणा गर्नुभएको थियो । नगरपालिकाले सोहि नीति अनुरुप राजश्वका दरहरु घटाँउदै दायरा फराकीलो गरिंदा कर संकलन उत्साहजनक रुपमा बढेको हो ।
तारकेश्वर नगरपालिका वडा नं १० ले २०७९ साउन देखि माघ मसान्त सम्म ९६ लाख ७१ हजार १ सय ३१ रुपयाँ राजश्व संकलन गरेको छ । वडा कार्यालयले माघ महिनामा मात्र ७ लाख ४५ हजार ५ सय २ रुपयाँ संकलन गरेको हो । माघ महिनामा सबै भन्दा बढी सम्पत्ती कर बापत ४ लाख १० हजार २३ रुपयाँ संकलन भएको छ भने घर बहाल कर बापत २ लाख ३७ हजार ३ सय ९२ रुपयाँ, सिफारीस दस्तुर ६३ हजार ५ सय २२, व्यवसाय रजिष्ट्रेसन दस्तुर वापत ३१ हजार ४ सय ३१ रुपयाँ सहित बिभिन्न शिर्षकमा राजश्व संकलन भएको तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले जानकारी दिनुभयो । अध्यक्ष राईले वडा कार्यालयले राजश्व संकलनसंगै विकास निर्माणका कामहरुलाई पनि तिब्रता दिएको बताउनुभयो । अध्यक्ष राईका अनुसार तारकेश्वर नगरपालिकाको ११ औं नगरसभाद्धारा स्वीकृत धेरै विकासका कामहरु पुरा भएका छन् भने केहि बाँकी योजनाहरु पुरा हुने चरणमा रहेका छन् । वडा कार्यालयले नागरिकको सुरक्षालाई ध्यान दिंदै चोक र गल्लीहरुमा सडक बत्ती र सोलार समेत जडान गरिसकेको छ भने मुख्य चोकहरुमा सिसि क्यामेरा समेत जडान भइसकेको अध्यक्ष राईले बताउनुभयो । त्यस्तै तारकेश्व १० र टोखा नगरपालिका जोडने बिष्णुमती खोलामा बेलीब्रिज समेत निर्माण भइसकेको भने यस अघि निर्माण सुरु भई अलपत्र रहेको तारकेश्वर वडा नं १० को प्रशासनिक भबन आगामी २०८० बैशाख भित्रमा सम्पन्न गराई वडाका कामहरु त्यहीबाट सुरु गर्ने गरि द्रुत गतिमा कामहरु भइरहेको अध्यक्ष राईले बताउनुभयो । वडाका बिभिन्न चोक र गल्लीहरुका सडकहरु ढलान गर्ने र पिच गर्ने कामहरु पनि भइरहेका छन् । वडा भित्र रहेका सार्वजनीक सम्पत्तीहरुलाई संरक्षण गर्न रेखाङकन गर्ने र वाल लगाउने कामहरु पनि वडा कार्यालय मार्फत भइरहेको अध्यक्ष राईको भनाई छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array