स्ववियु निर्वाचन तयारी तीव्र पार्दै नेविसङ्घ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैतमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउने गरी तयारीलाई तीव्रता दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेसँगै नेविसङ्घले स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन तयारीलार्ई तीव्रता दिएको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आगामी स्ववियु निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन विभिन्न पाँच समिति गठन गरेर चुनावी प्रचारलाई तीव्रता दिएको बताउनुभयो ।

उहाँका अनुसार नेविसङ्घले स्ववियु निर्वाचनका लागि घोषणापत्र तयारी, प्रचारप्रसार, प्रशिक्षण, विद्यार्थी समन्वय र सुरक्षा समन्वय समिति गठन गरेको हो । क्याम्पसदेखि विश्वविद्यालयसम्ममा प्रतिनिधि पठाउने कुरा अगाडि बढिसकेको उहाँले जानकारी दिनुभयो । नेविसङ्घले जिल्ला समिति गठनलाई समेत तीव्रता दिएको छ ।

लामो समयपछि हुन लागेको निर्वाचनमा यही फागुन १९ गते विद्यार्थी सङ्घसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

यस्तै, फागुन २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरेको छ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन विसं २०६५ सालयता नियमित हुनसकेको छैन । हाल देशभर त्रिविका ६२ आङ्गिक र एकहजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array