नक्कली बिल बनाएर रकम हिनामिना गरेको आरोपमा उपप्रमुख र उपभोक्ता समितिका अध्यक्ष सहित ११ जना विरुद्ध मुद्दा दायर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ — नक्कली बिल बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन उपप्रमुख (उपमेयर) र उपभोक्ता समितिका अध्यक्षसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाको वडा नम्बर ११ स्थित स्वास्थ्य चौकीमा ग्याबिन पर्खाल निर्माण गर्दा नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्य झुटा भरपाई देखाएर ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ अनियमितता गरेको कसुरमा नगरपालिकाका अनुगमन समिति संयोजकसमेत रहेकी तत्कालीन उपप्रमुख सुन्तला रोकायासहित ११ जनाविरुद्ध बिगो, कैद र जरिवाना मागदाबी गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

प्रवक्ता भण्डारीका अनुसार तत्कालीन उपप्रमुख रोकायासहित वडा नम्बर १३ का अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्रबहादुर रावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपालीले हुँदै नभएको कामलाई निर्माण सम्पन्न भएको गलत प्रतिवेदन दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम अनियमितता भएको रकमलाई बिगो कायम गरेर कैद र जरिवानाको मागदाबी गरिएको छ ।

उक्त उपदफा २ मा भनिएको छ, ‘हरेक सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाचबुझ गरी प्रतिवेदन दिँदा बदनियत पूर्वक भए गरेका कुरा लुकाई छिपाई वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन महिनादेखि एक वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ’ भनिएको छ ।

त्यस्तै सोही कसुरमा छायाँनाथ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ल, इन्जिनियर पदमबहादुर बुढा र सब–ओभरसियर (करार) गड बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो, कैद र जरिवानामा माग गरिएको छ । उनीहरुमाथी ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ बिगो, ३ महिनादेखि ३ वर्ष सम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना असुल गर्न माग गरिएको छ ।

 

वडा नम्बर ११ का तत्कालीन अध्यक्ष दानबहादुर बुढा विरुद्ध हुँदै नभएको कामको आधारमा गलत सिफारिस गरी रकम भुक्तान दिने/लिने काममा संलग्न रहेको कसुरमा ७ लाख ५७ हजार ३ सय ७ रुपैयाँ बिगोसहित २ वर्ष कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस्तै उपभोक्ता समितिका अध्यक्ष जीवनबहादुर बुढा, सचिव केशबहादुर बुढा र कोषाध्यक्ष सृजना बढुवालले ग्याबिन पर्खाल निर्माण गर्दा झुट्टा भरपाई बनाई रकम भुक्तानी लिएकोमा कसुरदार देखाइएको छ । तीनै जनाविरुद्ध अनियमितता भएको रकमलाई बिगो कायम गरेर २ वर्ष सम्म कैद, बिगोबमोजिम जरिवाना र बिगो रकम जफत गर्नुपर्ने अख्तियारको मागदाबी छ ।

प्रतिक्रिया दिनुहोस्