आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौँ ल्याइयो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ फाल्गुन २०७९, शनिबार
1 Min Read
Aa

काठमाण्डौं । आगलागीमा परेर गम्भीर अवस्थामा पुगेका अछामको पञ्चदेव विनायक नगरपालिका-८ कोसेडीका दुई युवालाई प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

यही फागुन ११ गते घरमा नै लागेको आगोमा परेपछि सोही ठाउँका २१ वर्षीय हिमराज रोकामगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते हुनुभएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि उहाँहरुलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो ।

घाइतेमध्ये हिमराजको शरीरको ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको जनाइएको छ । सुर्खेत अस्पताललेसमेत उपचार गर्न नसक्ने र काठमाडौँको कीर्तिपुरस्थित वर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष अपील गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेलाई काठमाडौँ ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array