नेविसङ्घको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ,  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) केन्द्रीय समितिको आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुने भएको छ ।

नेविसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेविसङ्घ पुल्चोक क्याम्पसको सहआयोजनामा यही फागुन १६ देखि १८ गतेसम्म पुल्चोकमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइएको हो । नेविसङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले पुल्चोक क्याम्पसमा हुन लागेको ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्यालाई उजागर गरी समाधानको प्रयास थालिने जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पाले पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण घटिरहेको भन्दै विद्यार्थीले सो विश्वविद्यालयको विकल्प खोजिरहेको बताउनुभयो । “त्रिविमा प्रश्नपत्र दोहोरिराख्ने, समयमा परीक्षा नहुने, समयमा परीक्षा हुँदा पनि छ महिना, एक वर्षमा नतिजा नआउने समस्या छ, अहिले हाम्रा विद्यार्थीले अनुसन्धानमा ध्यान दिन सकेका छैनन्”, उहाँले भन्नुभयो ।

नेविसङ्घले शैक्षिक, राजनीतिक विषय मात्र नभएर विज्ञान प्रविधिको विषयलाई पनि प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो । ड्राइभिङ लाइसेन्स, मालपोत, पासपोर्ट विभागमा हुने घण्टौँ लामो लाइन र पटकपटक हुने सर्भर डाउन, विश्वविद्यालयको परीक्षा प्रणालीमा भएको ढिलासुस्ती र नतिजा प्रकाशनको अनिश्चितता, शेयर कारोवार गर्दा देखिने सर्भर त्रुटि जस्ता विद्यमान समस्याको समाधान ह्वाकाथुनमार्फत खोजिने अध्यक्ष शेर्पाले बताउनुभयो ।

ह्याकाथुन कार्यक्रममार्फत काठमाडौँलगायत देशभरका सहरमा बढ्दो प्रदूषण र फोहर व्यवस्थापनलाई प्राविधिक सहायतामा कसरी समाधान गरेर सफा र सुन्दर बनाउन सकिन्छ भन्नेबारे वैज्ञानिक प्रयोगका विषयमा प्रणाली तयार पारिने नेविसङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array