विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीले शुल्क बुझाएनन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फका हवाई कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रियसहित विभिन्न विमानस्थलमा तिर्नुपर्ने बक्यौता नतिरेसम्म नयाँ उडान तालिका स्वीकृत नगर्ने भएको छ ।

चैत १८ गतेदेखि लागू हुने गर्मीयामका उडान तालिकाअनुसार आन्तरिकतर्फका नौवटा हवाई सेवा कम्पनी र ११ वटा हेलिकोप्टर कम्पनीलाई नयाँ तालिकाका लागि स्वीकृति लिनुअघि अनिवार्य बक्यौता तिर्न निर्देशन दिएको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार नयाँ तालिका स्वीकृतिका लागि सबै विमानस्थलमा बक्यौता नतिरे उडान अनुमति नपाइने निर्णय भएको हो ।

विमानस्थलका सेवा सुविधा प्रयोग गरेबापत विभिन्न विमान कम्पनीले बुझाउनुपर्ने शुल्क समयमा नतिरेपछि प्राधिकरणले उडान तालिका स्वीकृति लिँदा नै कडाइ गर्न लागेको उनले बताए ।

हेलिकोप्टर र हवाई कम्पनीले बुझाउन बाँकी बक्यौता रकम यही फागुन १६ गतेभित्र बुझाउन निर्देशन जारी भएको उनको भनाई छ ।

प्राधिकरणका अनुसार हवाई सेवातर्फ नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर, गुण एयरलाइन्स, सीता एयरलाइन्स र सौर्य एयरलाइन्सले बक्यौता तिर्न बाँकी छ ।

त्यस्तै हेलिकोप्टरतर्फ एयर डाइनेस्टी, अल्टिच्युड, हेली एभरेस्ट, माउन्टेन हेलिकोप्टर्स, फिस्टेल एयर, सिम्रिक एयर, मनाङ एयर, कैलाश हेलिकोप्टर, श्री एयरलाइन्स, प्रभु हेलिकोप्टर्स र मुस्ताङ हेलिकोप्टरको बक्यौता रहेको प्राधिकरणले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

Array