युगान्डाकी महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्ति गराएको आरोपमा युगान्डाकै अर्की महिला पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौँ — अफ्रिकी देश युगान्डाकी महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्युरोले युगान्डाकै अर्की महिलालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार प्रक्राउ पर्नेमा युगान्डा मसाका घर भई पर्यटक भिसामा नेपाल आई काठमाडौं महानगर–२९ ठमेलस्थित ‘होटल जर्नी होम प्रालि’ मा बस्दै आएकी ए ००३०६२०२ नम्बरको राहदानीवाहक २५ वर्षीया नताशा भनिने एमाकुलेट नाबासुम्बा छिन् ।उनले आफ्नी दिदीको चिनजानकी एक युगान्डाकी महिलालाई नेपालमा क्लिनर, वेट्रेसलगायतको काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने, हवाई टिकट, भिसालगायत खर्चसमेत कमाएर तिर्न सक्ने सर्तमा ती महिलालाई काठमाडौं बोलाइन् । आर्थिक अवस्था न्यून भएकी ती महिलालाई पर्यटक भिसामा २०२३ जनवरी २८ मा हवाई मार्ग हुँदै नेपाल झिकाई आफू बस्दै आएको होटलमा राखेकी थिइन् । ती महिलालाई नताशाले सोही होटलमा नेपाल तथा भारतीय मूलका व्यक्तिहरुसँग शारीरिक सम्पर्क गर्नुपर्ने, नत्र पीडित महिला र उनको परिवारलाई मार्नेसम्मको धम्की दिने, दैनिक ५ देखि ७ जनासँग शारीरिक सम्पर्क गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

दैनिक ५ देखि ७ जनासँग शारीरिक सम्पर्क गर्न लगाएपछि बिरामी परेकी पीडित महिलाले काम गर्न नसक्ने अवस्था भएपछि नताशाले होटलबाट निकालेको र पीडित युगान्डा फर्किन २०२३ फेब्रअरी २६ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगिन् । यता नताशाले उनको हवाई टिकट रद्ध गरिदिएको थाहा पाइन् । टिकट रद्ध गरेपछि पीडित मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेकी थिइन् । नताशा २०२२ डिसेम्बर ८ देखि पर्यटक भिसामा ठमेलस्थित होटल जर्नी होम प्रालिमा बस्दै आएकी थिइन् ।

प्रहरीले नताशालाई सोमबार पक्राउ गरी थप अनुसन्धानका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेको ब्युरोका प्रवक्ता एसपी कृष्ण पंगेनीले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा आरोपी नताशा आफैं पनि यौन व्यवसायमा संलग्न रहेको र ग्राहकको व्यवस्था पनि आफैंले गर्दै आएको देखिएको छ । ग्राहक सम्पर्कमा नआएका बेला ठमेलका विभिन्न नाइट क्लबबाट ग्राहक खोजी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

एक जना पीडितमात्रै प्रहरीको सम्पर्कमा आएको हुादा अन्य महिलालाई पनि नेपाल झिकाएर यस व्यवसायमा लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । ब्युरोमा उजुरी दिन आइपुगेकी पीडितलगायत अन्य युगान्डाका महिलाहरुलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, पीडितलाई वेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकमसमेत आफैं लिने गरेको अनुसन्धानमा खुलेको एसएसपी श्रेष्ठले बताए । उनले प्रतिव्यक्ति ४ देखि ५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । यस अपराधमा अन्य व्यक्तिहरुको संलग्नता सम्बन्धमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array