आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ , निर्वाचन आयोगले स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिका लागि अभिमुखीकरण तथा क्षमता अभिवृद्धिसम्बन्धी प्रदेश र जिल्लास्तरीय प्रशिक्षण सञ्चालन गरेको छ ।

यही फागुन १० गते काभ्रेको धुलिखेलबाट शुभारम्भ भएको प्रशिक्षण हाल मधेस प्रदेशको जनकपुर उपमहानरगपालिकामा सञ्चालन भइरहेको छ । यसअघि सोही प्रकारको प्रशिक्षण बारा जिल्लामा सञ्चालन भएको थियो ।

जनकपुरमा भएको दुईदिने प्रशिक्षण कार्यक्रमको बुधबार शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट गरिने मतदाता नामावली सङ्कलन तथा अद्यावधिक, मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन तथा निर्वाचन शिक्षा जस्ता महत्त्वपूर्ण निर्वाचन व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापमा स्थानीय तहको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनसँग सम्बन्धित गतिविधिलाई आम मतदातासमक्ष पु¥याउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुने बताउँदै उहाँले मृत्यु भएका व्यक्तिको विवरण स्थानीय तहले मात्र उपलब्ध गराउनसक्ने भएकाले आयोगलाई हरेक स्थानीय तहले मृत्यु भएकाको विवरण नियमितरूपमा उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

निर्वाचनका बारेमा जानकारीमूलक सन्देश एवं सूचना नियमित प्रचारप्रसार गर्ने कार्यमा पनि स्थानीय तहले अगुवाई लिनुपर्ने प्रमुख आयुक्त थपलियाको भनाइ थियो । प्रशिक्षणमा धनुषा, सिराहा, सप्तरी, सर्लाही र महोत्तरी जिल्लाका स्थानीय तहमा कार्यरत ८८ जना निर्वाचन सम्पर्क व्यक्तिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्