निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० चैत्र २०७९, सोमबार
4 Min Read
Aa

काठमाडौँ, नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थाल्नुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गर्नुभएका अर्थमन्त्री महतले आज सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गर्नुभएको हो ।

विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने र निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने प्रतिबद्धता अर्थमन्त्रीले जनाउनुभएको छ । “हाम्रा नीति निर्माता र नियामकको अस्थिरताका कारण सिर्जित भएको मसस्याका कारण पूँजीबजार घटेको हो भन्ने हाम्रो बुझाइ छ । नेपालको पूँजीबजारमा ठूलो सङ्ख्यामा लगानीकर्ता जोडीएकाले उनीहरुको मनोविज्ञान बुझिदिन अर्थमन्त्रीलाई आग्रह गरेका छौँ ।”, अर्थमन्त्रीसँगको भेटबारे पूँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले रासससँग भन्नुभयो । अर्थमन्त्री महतले तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको पनि पौडेलले रासससँग बताउनुभयो ।

अर्थमन्त्रीको सचिवालयकाअनुसार आज नेपाल बैंकर्स सङ्घसँगको छलफलका क्रममा पनि उहाँले यो प्रतिबद्धता दोहो¥याउनुभएको छ । “नेपाल बैंकर्स सङ्घसँग बैंकको ब्याजदर, तरलता अभाव र कर्जा असुलीमा देखिएका समस्याका बारे छलफल भएको छ । छलफलका क्रममा अर्थमन्त्री महतले सबै क्षेत्रको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै आगामी दिनमा सम्बादलाई निरन्तरता दिनेसमेत आश्वासन दिनुभएको छ ।”, अर्थमन्त्रीको सचिवालयले जनाएको छ । फोरम र बैंकर्स सङ्घसँगको भेटलगत्तै अर्थमन्त्री महतले नेपाल धितोपत्र बोर्डलाई केही दिनभित्रै पूँजीबजार सुधारका लागि ठोस योजना बनाएर सकारात्मक नतिजा निकाल्ने गरी अघि बढ्न निर्देशनसमेत दिनुभएको छ ।

आजै अर्थमन्त्री महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट समितिको बैठक बोलाउनु भएको छ । गृहमन्त्रीसमेत सदस्य रहने बैठकमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक सहभागी रहनु भएको थियो ।

हिजो आइतबार निजी क्षेत्रका छाता सङ्गठनहरूले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका विषयमा छलफल गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग परिसङ्घसँगको छलफलमा पनि अर्थमन्त्री महतले अहिले आर्थिक क्षेत्रको खस्कँदा मनोबल उकास्न आपूm लागिपर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अर्थमन्त्रीसँगको भेटवार्तामा बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन नेपाल राष्ट्र बैंक र सरकारले संयुक्तरुपमा पहल गर्नुपर्ने, सरकारको पूँजीगत खर्च बढाउनुपर्ने, सीमाबाट हुने अवैध आयात रोक्नुपर्ने र वैदेशिक लगानी भित्र्याउनका पहल गर्नुपर्नेलगायत सुझाव दिएको महासङ्घले आइतबार विज्ञप्तिमार्फत् जनाएको छ ।

महासङ्घकाअनुसार अर्थमन्त्री महतले समस्याग्रस्त अर्थतन्त्र सुधार्ने आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेकाले यसमा निजी क्षेत्रका छाता संस्थाको सुुझाव र सहकार्यबाट आफू अगाडि बढ्ने विश्वास दिलाउनुुभएको छ । “तपाईँको मनोबल घट्न दिन्न, तपाईसँग निरन्तर संवादमा रहन्छु । मैले अर्थतन्त्रलाई सुुधार गर्न गरेको प्रतिबद्धता पूरा गर्न तपार्इँबाट पूर्णसहयोग पाउने अपेक्षा गरेको छु ।” अर्थमन्त्री महतले दिएको जवाफबारे महासङ्घले भनेको छ ।

त्यसैगरी, नेपाल उद्योग परिसङ्घले अर्थमन्त्री महतलाई भेटेर अर्थतन्त्र सुधारका लागि तत्काल गर्नुपर्ने १० बुँदे सुझाव दिएको छ । चुनौतीपूर्ण रहेको अर्थतन्त्रमा तत्काल सुधार ल्याउन ब्याजदर घटाइनुपर्ने, तरलता सहज गराईनुपर्ने, लगानीका लागि प्रोत्साहनलगायतका गर्नुपर्नेसुझाव परिसङ्घले दिएको छ ।

“ब्याजदर घटाउन एवं तरलताको स्थिती सहज बनाउन संस्थागत सामाजिक उत्तरदायित्व तीन प्रतिशतमा झारिनुपर्ने, नीतिदर र बैंक दर घटाईनुपर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको स्थानीय तहको संचित कोषमा भएको मौज्दात रकमको शतप्रतिशत निक्षेपको रुपमा गणना गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।” परिसङ्घले भनेको छ । त्यस्तै, मुद्दती खाता र बचत खाताको ब्याजदरको अन्तर अधिकतम पाँच प्रतिशत हुने व्यवस्था हटाउनुपर्ने, शेयर बजार तथा घरजग्गामा जाने मार्जिन ल्याण्डिङमा जोखिमभार शतप्रतिशतमा झारिनुपर्ने सुझाव पनि परिसङ्घले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array