नेपाल प्रहरी र सेनामा भर्ती गरिदिन्छु र शान्ति सेना पठाइदिने भन्दै ठकुरीले मोटो रकम ठगी गरेको खुलासा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ चैत्र २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं,  नेपाली सेना र नेपाल प्रहरीमा जागिर लगाइदिने र शान्ति सेना पठाइदिने भनी किरण शाही ठकुरीले मोटो रकम ठगी गरेको पीडितल खुलासा गरेकी छिन् । जाजरकोट स्थायी ठेगाना बताउने शाहीले जाजरकोटकी लक्ष्मी सुनुवारलाई विश्वासमा लिएर ४८ लाख भन्दा बढि रकम ठगी गरेका हुन् ।
पीडित सुनुवारले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत् उक्त घटना बाहिर ल्याएकी हुन् । जाजरकोट नै घर बताउने शाहीसँग सामान्य चिनजान रहेको पीडित सुनुवार बताउँछिन् । आफ्नो श्रीमान पनि नेपाली सेनाको जागिरे रहेका बताउने उनले शाहीले पाँच जनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्ति तीन लाखको दरले पैसा ठगी गरेको बताईन् । शाहीले दोलखाको जिरी घर बताउने रामकृष्ण थापालाई उक्त पैसा दिन भनेको पीडित सुनुवारको दाबी छ ।
‘मलाई किरण शाही ठकुरीले तपाईँहरुको कोही आफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । त्यसपछि उहाँले मेरो श्रीमानलगायत पाँच जनाबाट तीन÷तीन लाख पैसा शान्ति सेना पठाउँछु भनेर उठाउनुभयो । उहाँले अर्को सरसँग कुरा गराउनुभयो । पैसा लिएर आउन भन्नुभयो । एक वर्षपछि मात्रै पालो आउँछ भन्नुभयो,’– पीडित सुनुवारले भनिन् ।
शान्ति सेनामा पठाउन एक वर्षको समय लाग्ने उनीहरुले बताएको पीडितको भनाई छ । शान्ति सेनामा पठाउनका लागि पैसा बुझाएपछि सेनामा भर्ती खुलेपछि कोही भए पठाउनका लागि आफूलाई उक्त गिरोहले भनेको उनले बताईन । पीडित सुनुवारकै मध्यस्थतामा उक्त गिरोहले सेनामा भर्ना गरिदिने भन्दै सुनिल विक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामा भर्ती गरिदिने भन्दै प्रतिव्यक्ति ३ लाख र प्रहरी जवानमा भर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीप विक, नवीन विक, सुरज यादवलगायतका व्यक्तिहरुसँग पैसा लिएको पीडितको दाबी छ ।
‘उहाँले कोही मान्छे छन् भने ल्याउनुस् भन्नुभयो । उहाँले हाकिमको कोठाबाट हाल्ने मान्छे हो । तपाईँहरुलाई तालिममा पठाउँछौं भन्नुभयो । तीन÷तीन लाखको दरले मैले पैसा पठाएँ । मंसिरमा पैसा पठाएको उहाँले चुनाव पछिमात्रै भन्नुभयो । त्यसपछि हाम्रो सरकार ढल्ने भयो । मिलाउन पर्यो भन्नु भयो । अहिले उहाँ सम्पर्कविहीन हुनुहुन्छ,’–उनले भनिन् ।
ठगी गिरोहले आफूलाई नौ लाखको चेक दिएकोसमेत उनले बताईन् । उनीहरुले कहिले काही फोन गरेर मुद्दा मामिला नगर्न दवाब दिने गरेको पीडितको भनाई छ । आफू अब पीडकविरुद्ध कानुनी कारबाहीमा जान तयार रहेको उनले बताईन् ।
‘कहिले काही फोन गरेर मुद्दा हाल्ने काम नगर्नु, हाम्रो सरकार बन्दैछ, मिलाउँछु भन्नुहुन्छ । उहाँले नौ लाखको चेकसमेत फिर्ता गर्नुभएको छ,’– पीडित सुनुवारले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

Array