प्रधानमन्त्री दाहालसँग महानिर्देशक डा बरमेजोको भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको छ ।
आज भएको भेटमा उहाँहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गर्नुभएको भेटमा सहभागी नेपाल परिवार नियोजन सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिनुभएको थियो ।

महानिर्देशक डा बरमेजोले महासङ्घले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताउनुभएको थियो । भेटमा नेपाल परिवार नियोजन सङ्घका अध्यक्ष हिमाल कसजू, महासङ्घका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी हुनुहुन्थ्यो ।

महासङ्घ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासङ्घमा विश्वका एक सय ८९ देशका परिवार नियोजन सङ्घ आबद्ध छन् ।

नेपाल परिवार नियोजन सङ्घले सन् १९६० मा यस महासङ्घको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । मूलतः गरिब, सीमान्तीकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसङ्ख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासङ्घले विश्वभर आफ्ना सदस्य–सङ्घमार्फत लगानी गर्दै आएको छ ।
हाल नेपाल परिवार नियोजन सङ्घले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array