आलेखः घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला, । कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ बैशाख २०८०, मंगलवार
8 Min Read
Aa

काठमाडौँ,  के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौँको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाइँको उपचार गरिने छ ।

मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ । मोटोपन, खानापान र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको छ । मानिसमा उच्च रक्तचाप, मोटोपना, मधुमेह, हृदयघात कोलस्ट्रोल रोगसँगै घुर्ने रोगको समस्या पनि बढिरहेको छ ।

चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन् । घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ । बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन् ।

राति बिरामीलाई राखेर निद्राको परीक्षण गरिन्छ । “राति बिरामीको शरीरमा लिडहरु जोड्छौँ । राति सुतेको बेला त्यो व्यक्तिको गहिरो निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौँ”, उहाँले भन्नुभयो, “कति टक घु¥यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछाँै । त्यो चेकजाँचमा उसको घुराइ नरम कडा के हो भनेर हामीले छुट्टाएर औषधि उपचार गर्दछौँ ।”

निद्रा प्रयोशालामा घुराइको मापन गरेपछि उपचार विधि अवलम्बन गरिन्छ । कडा घुराइका सिप्याप थेरापीबाट उपचार गरिन्छ । सिप्याप थेरापीमा बिरामीलाई मास्क लगाएर सुत्छ, राति सास पनि रोकिँदैन, घुराइ पनि हँुदैन, अक्सिजन पनि कम हँुदैन । “सिप्याप थेरापीबाट उपचार गर्दा केही दिनमा नै बिरामीको घुराइ बन्द हुन्छ, निद्रा राम्रा पर्छ, दिउँसो निद्रा लाग्दैन । उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुन्छ,” उहाँले भन्नुभयो, “अहिले वीर अस्पतालमा उपचारमा आउने धेरै बिरामीलाई हामीले सिप्याप थेरापीबाट उपचार गर्ने गरेका छौँ ।”

नेपाली बजारमा सिप्यापको मूल्य एक लाख २० हजार रुपैयाँ पर्दछ । सबै चिकित्सकले बिरामीले सिप्याप थेरापी किन्न नसक्नेलाई डेन्टल डिभाइस प्रयोग गर्न आग्रह गर्दछन् । सिप्याप थेरापी बिरामीले घरमा नै प्रयोग गर्न सक्दछन् ।

डा श्रेष्ठ वीर अस्पतालमा आएका प्रायःजसो सबै बिरामीलाई सिप्याप थेरापी प्रयोग गर्नुपर्ने खालका रहेको बताउनुहुन्छ । “अस्पतालमा आएकामध्ये धेरैजसो बिरामी कडा घुराइ समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “त्यस्ता बिरामीलाई सिप्याप थेरापी प्रयोग गरेर उपचार गर्ने गरिन्छ ।” अस्पतालमा युवा अवस्थाका बिरामी धेरै आउने गरेको उहाँको भनाइ छ ।

निजी अस्पतालमा एक रातको १४ देखि २० हजार तिर्नुपर्दछ तर वीरमा एक रातको रु तीन हजार शुल्क तोकिएको छ । निजी अस्पतालमा १०–१२ वर्षदेखि नै स्लिप ल्याब रहेको छ । वीर अस्पतालमा भने चार महिनादेखि सञ्चालनमा ल्याइएको छ । निजीभन्दा वीर अस्पतालमा सस्तो भएपछि धेरै बिरामी आउने गरेका छन् ।

अस्पतालमा रहेको निद्रा प्रयोगशालामा उपचार गर्न बिरामीले पालो भने कुर्नुपर्ने हुन्छ । एउटा मात्र प्रयोगशाला सञ्चालनमा रहेकाले बिरामीले पालो कुर्नुपर्ने हुन्छ ।

घुर्ने बिरामीका लागि सञ्चालनमा ल्याइएको वीरको स्लिप ल्याब हप्ताको एक दिन मात्र सञ्चालन गरिएको इन्चार्ज बिनिता पौडेल बताउनुहुन्छ । “एउटा मात्र प्रयोगशाला रहेको छ । त्यो पनि हप्तामा एकपटक मात्र चल्ने हुँदा छ बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्राविधिक पनि नभएर प्रयोगशालालाई दैनिक सञ्चालन गर्न समस्या भएको छ । दक्ष प्राविधिक नहुँदा नर्स पौडेललाई नै तालिम दिएर सिकाइएको छ । “बिरामीको शरीरमा राखिएको लिडहरु परीक्षण गर्नुपर्दछ । शरीरमा लगाइएको लिडबाट बिरामी गहिरो निद्रा कति सुत्यो, कति घु¥यो, अक्सिजन कति बढ्यो, कति घट्यो र श्वास कतिपटक रोकियो भन्ने थाहा हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि बिरामीको अवस्था कस्तो भनेर रातभरि कम्प्युटरमा हेर्नुपर्दछ । म एकजनामा मात्र प्राविधिक भएकाले दैनिक प्रयोगशाला सञ्चालन गर्न सकेका छैनौँ ।”
रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्ता खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोहीअनुसार उपचार गरिने उहाँको भनाइ छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले घुराईसम्बन्धी रोग बढ्दै गएपछि निद्रा प्रयोगशाला राखिएको बताउनुभयो । उहाँले जनशक्ति थप गरेर हरेक दिन सञ्चालन गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

वीर अस्पतालका छाती तथा निद्रा रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठले मोटोपनका कारण मानिसमा घुर्ने समस्या बढिरहेको बताउनुभयो । उहाँले मोटोपन भएको व्यक्ति घुर्ने, घुर्दा श्वास रोकिने, आत्तिने, बेलाबेलामा उठ्ने जस्ता समस्या पनि देखिने गर्दछ ।

धेरै घुर्ने मानिसमा राति सुतेको बेला श्वासै रोकिएर बुउँझिने, गहिरो निद्रा नपर्ने र दिउँसो धेरै निद्रा लाग्ने जस्ता समस्या देखिने गर्दछ । घुराइसम्बन्धी यस रोगलाई ‘आब्स्ट्रोक्टिव स्लिप एप्निया’ (कडाइ घुराइसम्बन्धी रोग) भनिन्छ ।

यस्तै घुराइ गर्दा गहिरो निद्रा नपरेपछि दिउँसो काम गर्ने ठाउँमा निदाइदिने, गाडी, स्कुटर वा बाइक चलाउँदा चलाउँदै निदाउने हुन्छ । कडा खालको घुर्ने रोग हुँदा राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुने, घाँटी खसखस हुने जस्ता समस्या लिएर अस्पताल आउने गरेको उहाँ बताउनुहुन्छ ।

डा श्रेष्ठका अनुसार मोटो मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ । त्यस्ता व्यक्ति गहिरो निद्रामा हुँदा घाँटीको मसलहरु आराम गर्छन् र हावाको नली साँघुरिँदै जाँदा बन्द हुन्छ । यसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो भई घुर्ने गर्छन् । उहाँका अनुसार कडा घुर्ने रोग ९० देखि ९५ प्रतिशत मोटो व्यक्तिलाई देखिने गरेको छ । तर पाँचदेखि दश प्रतिशतमा जन्मजात घाँटीमा र चिउडीको बनावट बिग्रिएर पनि सानैबाट घुर्ने समस्या देखिने गरेको छ ।
विश्वमा छदेखि २० प्रतिशत मानिसहरु घुराइ समस्याका बिरामी भएका छन् । नेपालमा छ प्रतिशतमात्र मान्ने हो भने १८ देखि २० लाख मानिस कडा घुराइ रोगबाट ग्रसित गरिएको आङ्कलन गरिएको उहाँको भनाइ रहेको छ ।

मानिसले घुर्नेलाई सामान्य लिने गरेको पाइएको भन्दै तर अहिले घुर्ने रोगका रुपमा देखिएको उहाँ बताउनुहुन्छ । “मानिसहरुले घुर्नेलाई सामान्य रुपमा लिएका छन् तर त्यसो होइन । धेरै कमलाई मात्र घुर्ने रोग हो भनेर थाहा छ । कडा घुराइ ज्यान जान पनि सक्छ । त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन,” उहाँले भन्नुभयो ।

अस्पतालमा आउने प्रायःजसोमा कडा किसिमका घुर्ने रोगका बिरामी हुने गरेको उहाँ बताउनुहुन्छ । “अस्पतालमा प्रायः जसो राति धुराइका कारणले गहिरो निद्रा नपरेर दिउँसो निद्रा लाग्ने, मोटोपना, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्ने खालका छन्”, उहाँले भन्नुभयो । कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने उहाँको भनाइ छ ।

घुर्नेसम्बन्धी कडा रोगका बिरामीलाई उच्च रक्तचाप, मधुमेह, भविष्यमा हृदयाघात, मस्तिष्काघात, अचानक सुतेको बेला मृत्यु हुने र प्यारालासिस हुने सम्भावना अन्य व्यक्तिभन्दा दुईदेखि तीन गुणा बढी हुने उहाँ बताउनुहुन्छ । “घुर्ने बिरामीमा राती श्वास र अक्सिजन रोकिने हुन्छ । कडा भएपछि अक्सिजन रोकिएपछि मुटुको चालमा गडबडी आउँछ । त्यसपछि अचानक हृदयघात, मृत्यु हुने जस्ता सम्भावना हुने गर्दछ”, उहाँले भन्नुभयो ।

गहिरो निद्राका लागि सुत्ने समय एउटै हुनुपर्दछ । सुत्नअघि चुरोट, मादकपदार्थ सेवन, कफीजस्ता वस्तुको सेवन गर्नुु हँुदैन । ती पदार्थले हाम्रो मस्तिष्कलाई उत्तेजित बनाएर निद्रा लाग्न दिँदैन । यस्तै, सुत्ने कोठाको तापक्रम पनि मिलेको हुनु पर्दछ । तनावका कारणले पनि निद्रा लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्