मानसिंह स्कुलको सामाजिक लेखा परिक्षणमा १३ लाखको अक्षय कोषनै गायब, शिलालेखमा दाताको नाम छ, पैसाको हिसाब छैन्

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ जेष्ठ २०८०, शनिबार
5 Min Read
Aa

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० को मानसिंह धर्म माध्यामिक विद्यालयको सामाजिक लेखा परिक्षण (सोसियल अडिट) मा १३ लाख ४३ हजार त्रियासी रुपयाँको अक्षयकोषनै गायव भएको छ ।
विद्यालयमा आज आयोजना गरिएको सामाजिक लेखा परिक्षण कार्यक्रममा सार्वजनीक गरिएको हिसाब किताबमा अक्षयकोषको रकम उल्लेख नभएपछि कार्यक्रममा सहभागी भएका अविभावक, पत्रकार, कर्मचारी र शिक्षकहरुनै चकित बनेका छन् ।
सामाजिक लेखा परिक्षण कार्यक्रममा अक्षय कोषको रकम बारेमा जिज्ञासा राख्दा विद्यालयका प्रधानाध्यापक नारायण सिंह थापाले अक्षयकोषको बारेमा थाहा भएपनि रकम बारेमा जानकारी नभएको बताउनुभयो । प्रधानाध्यापक थापाले अक्षयकोषको रकम बारेमा खोजी थालिएको बताउनुभयो ।
विद्यालयको सामाजिक लेखापरिक्षणमा रकम उल्लेख नभएपनि सामाजिक लेखा परिक्षण कार्यक्रम चलिरहेको विद्यालयको सभाहल नजिकै भ¥याङमा राखिएको शिलालेखमा भने अक्षय कोषको रकम र दाताहरुको नाम स्पष्ट उल्लेख गरिएको देखियो ।
श्री ५ बीरेन्द्र बीर बिक्रम शाहको गद्धी आरोहण रजत महोत्सबको अवसरमा २०५३ साल फागुन २९ गते रानी एश्वर्य राज्य लक्ष्मी शाहले मानसिंह स्कुलको भबन उदघाटन गर्ने क्रममा १ लाख ६३ हजार ८५ रुपयाँको अक्षयकोष स्थापना भएको विद्यालयको शिलालेखमा उल्लेख गरिएको छ ।
हेर्नुहोस विद्यालयको शिलालेख ।

No description available.
त्यस्तै मानसिंह धर्म माविमा रहेको अर्को शिलालेखमा उच्च माविको रजत महोत्सबको अवसरमा २०६० साल देखि हाल सम्म सहयोग गर्ने १५ जना दाताहरुको नाम उल्लेख गरिएको छ । जहाँ ११ लाख ७९ हजार ९ सय ९८ रकम दान गरेको स्पष्ट लेखिएको छ ।
हेर्नुहोस विद्यालयको अर्को शिलालेख ।

No description available.

कहाँ छ रकम ?
अक्षय कोषको रकम बारेमा पटक पटक अविभावक, स्थानियबासीहरुले विद्यालयसंग जानकारी माग्दामा गैरजिम्मेवार जबाफ पाउने गरेको बताँउदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा वडा अध्यक्ष कुमार राई चयन भएसंगै विद्यालय व्यवस्थापन समितिले समेत सो रकम बारेमा चासो राख्दै खोजी थालेको छ । व्यवस्थापन समितिले रकम खोजी र छानबिन गर्नका लागि समितिका सदस्य एवं विद्यालयका संस्थापक स्व मानसिंह महर्जनका छोरा मानबहादुर महर्जनको नेतृत्वमा अक्षयकोष खोजी तथा छानबिन समिति समेत गठन गरेको छ । अक्षयकोषको रकम खोजी र छानबिन गर्ने समितिका संयोजक महर्जनका अनुसार समितिको अथक प्रयासबाट दुईवटा बैकमा ५ लाख ६२ हजार रकम फेला परेको छ । जस अनुसार एनआईसि एसिया बैकमा ४ लाख र नेपाल बैक बालाजुको खातामा १ लाख ६२ हजार रकम फेला परेको छ । अक्षय कोषको बाँकी ७ लाख ८१ हजार ८३ रुपयाँ भने अझै भेटिएको छैन् ।

शिक्षा ऐन को २०५८ को सातौं संशोधनले प्रत्यक आर्थिक बर्ष सक्कीएको ३ महिना भित्र सामाजिक परिक्षण हुनुपर्ने उल्लेख भएपनि विद्यालयले ७ महिना पछि मात्र सामाजिक परिक्षण गर्न लागेको हो । सामाजिक लेखा परिक्षणमा पेश भएको खर्च बिबरणहरु अश्वभावीक र अपारदर्शी रहेको भन्दै अविभावकहरुले चर्को बिरोध गदै यहि अवस्थामा पास गर्न नसकिने बताएका छन् ।
मानसिंह स्कुलका शिक्षक अविभावक संघका अध्यक्ष विसन सिंह बोहराले विद्यालयबाट पेश गरिएको हिसाबमा अपारदर्शीता र भ्रष्टचारको गन्ध आएको बताँउदै बृहद छलफल पछि मात्र यसलाई पारीत गरिनुपर्ने बताउनुभयो ।
विद्यालयका अविभावक एवं सामाजिक अभियन्ता शोभाकान्त पाण्डेले विद्यालयमा पारदर्शीताको कुरा गर्दा सामाजिक लेखा परिक्षण कार्यक्रममा आफुमाथी विद्यालयका शिक्षकले हातपात गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य.जीव प्रसाद गजुरेलले सार्वजनीक लेखा परिक्षणमा पेश गरिएका बिबरण विश्वासीलो नरहेको बताँउदै बिल भरपाई हेरेर मात्र पास गर्न सकिने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य राजु रानाभाटले धेरै जोस र जाँगर सहित विद्यालय व्यवस्थापन समितिमा आएपनि विद्यालय प्रशासनका कारण थकित भएको बताउनुभयो । उहाँले भन्नुभयो “स्कुलको गतिविधि देखेर हामी थकित भएका छौं, शिक्षकहरु पोशाक लगाउनु हुन्न, नियमीत पढाउन पनि आउनुहुन्न, हामी निरन्तर आवाज उठाइरहन्छौं तर सुनुवाई हुन्न, जे भएपनि हामी स्कुलको लागि केही गर्न आएका हौं, हारेका भनि छैनौं”
रानाभाटले विद्यालयमा निजी श्रोतका शिक्षकहरु बिच तलबमा समेत बिभेद भएको बताँउदै अतिरिक्त कक्षाको नाममा विद्यालय प्रशासनले आर्थिक चलखेल गरेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष कुमार राईले विद्यालयका गतिविधिहरुलाई अब कडा रुपमा निगरानी गर्ने बताँउदै अक्षयकोषको रकम बारेमा १५ दिन भित्रमा व्यवस्थापन समितिको बैठकमा आधिकारीक जानकारी पेश गर्न विद्यालय प्रशासनलाई निर्देशन दिनुभयो । त्यस्तै अध्यक्ष राइले विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि छनौटमा ढिलाई भएकोमा जिज्ञासा राख्दै व्यवस्थापनमा महिलाको प्रतिनिधित्व हुने गरी एक हप्ता भित्र शिक्षक प्रतिनिधि छनौट गरेर सिफारीस गर्न समेत निर्देशन दिनुभयो ।
तारकेश्वर नगरशिक्षा शाखाका प्रमुख पदम बहादुर खत्रीले विद्यालयका अविभावकहरुबाट आएका बिषयलाई गम्भीरतापुर्वक लिएर विद्यालयले आर्थिक सुशासन कायम गर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिका शिक्षा समितिका सदस्य राजेन्द्रप्रसाद तिमिल्सीनाले सामाजिक लेखा परीक्षण रोकिएमा फाइनल अडिटमा समस्या हुने बताँउदै नमिलेका बिषयहरुलाई छलफलबाट टुंगाउनुपर्ने बताउनुभयो । सदस्य तिमिल्सीनाले शिक्षा ऐनले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई समेत सामाजिक लेखा परिक्षणमा सहभागी गराउने व्यवस्था भएको उल्लेख गदै विद्यालय प्रशासन कम्जोर भएमा संक्रमणको अवस्था घोषणा गरेर नगरपालिकाले हस्तक्षेप गदै व्यवस्थापकीय जिम्मेवारी लिन सक्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array