प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा जरुरी : उपप्रधानमन्त्री श्रेष्ठ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० जेष्ठ २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौँ, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी सङ्गठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई  प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले उक्त कुरा बताउनुभएको हो ।

“प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीररूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ”, श्रेष्ठले भन्नुभयो, “देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।”

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले जेठ २ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । हाल इन्टरपोलमा एक सय ९५ रास्ट्र सदस्य छन् । इन्टरपोलले सतवार्षिकीमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई पनि दिनुभयो ।

“नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना दिन चाहन्छु,” श्रेष्ठले भन्नुभयो, “नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।”

ठगी तथा सङ्गठित अपराधमा नेपाल प्रहरीले गरेको कामबाट आम जनता खुसी भएको बताउँदै उहाँले दबाबमा नपरी कुनै निर्दोष नफसोस् र कुनै दोषी नउम्कियोस् भन्नेमा सचेत रहन आग्रह गर्नुभयो । सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रभावकारीरूपमा अगाडि बढाइरहेको भन्दै राम्रो गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिन आफू नहिच्किचाउने श्रेष्ठले उल्लेख गर्नुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array