नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगञ्ज भन्सार कार्यालयमा भन्सारको कारोबारमा कमी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ असार २०८०, शनिबार
2 Min Read
Aa

वीरगञ्ज , नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व दिने वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।

आव २०७८÷७९ को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आवको सोही अवधिमा एक लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको छ । यो समीक्षा अघिल्लो वर्षको तुलनामा ४३ हजार दुई सय ७९ कम हो ।

गत आवको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव भन्सारको राजस्व सङ्कलनमा समेत परेको बताउनुभयो ।

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले रु दुई खर्ब ३७ अर्ब ५८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् रु एक खर्ब ४२ अर्ब ३० करोड मात्र सङ्कलन गरेको उहाँँले जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र वाहन आयातमा ७० प्रतिशतभन्दा बढी कमी देखिएका कारण राजस्व सङ्कलनको लक्ष्य हासिल हुन नसकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array