नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ असार २०८०, शनिबार
5 Min Read
Aa

सप्तरी,  सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिराका जीवछ सदा ७२ वर्ष पूरा हुनुभएको छ । उहाँ हालसम्म पनि नागरिकता विहिन हुनुहुन्छ ।

नेपाली भएको प्रमाण प्राप्त गर्न ठूलै सङ्घर्ष गरे पनि सफलता पाउन नसकेका सदा अझै पनि नागरिकता बन्ला भन्ने आशमा बस्नुभएको छ । सदाले नागरिकता पाउन नसक्दा उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट वञ्चित छन् ।

“नेपालमै जन्मिए, यही हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकेको छैन”, सदाले गुनासो गर्नुभयो । घरकै मूल व्यक्तिको नागरिकता नबन्दा उहाँको २१ वर्षीय छोरा जितेन्द्र सदा, २० वर्षीया बुहारी सरस्वती सदाको नागरिकता बन्न सकेको छैन भने नाति आठ वर्षीय रुपक, पाँच वर्षीय दीपक र एक वर्षीया नातिनी जन्मदर्ता विहीन छन् ।

नेपाली भएको प्रमुख पहिचान नै नागरिकता भएको भन्दै नागरिकता नहुँदा परिवारका सदस्यहरुले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित भएका छन् । स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आएका जीवछले नागरिकताका लागि सम्बन्धित निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकेको दुखेसो पोख्नुभयो ।

जन्मेपछि कानुनी रुपमा नै राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्ने भए पनि जीवछका बुबा बिलट सदाको नागरिकता नहुँदा उहाँको पूरै परिवार अहिले पहिचानविशिन भएको छ । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहँुदा छोराछोरीदेखि नातिनातिनी सम्मको पहिचान बन्न सकेन”, जीवछले भन्नुभयो, “जन्मदर्ता नबन्दा छोराछोरीले विद्यालयमा पढ्न पाएन, अहिले नातिनातिनीको अवस्था पनि यस्तै बनेको छ ।”

आर्थिक अवस्था कमजोर भएकाले केही समय रोजगारीका लागि भारतको पञ्जाब गएको भन्दै अब स्वदेशमै केही गर्ने योजना रहेको जीवछका छोरा जितन्द्रले बताउनुभयो । उहाँले नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउनुभयो ।

“नागरिकता बनाउन गाएको नेतादेखि सिडियोसम्मलाई गुहारे पनि बुबाको नागरिकता नभएकाले नागरिकता नहुने भन्दै फर्काउँदै आएको छ”, जीवछले भन्नुभयो, “गाउँमा नागरिकता टोली आएको बेला नागरिकता बनाउन प्रयास गरे । त्यति बेला छरछिमेकको नागरिकता बन्यो, कुनै प्रमाण नरहेको भन्दै हामीलाई नागरिकता बनाई दिएन् ।” नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको उहाँको भनाइ थियो ।

“नागरिकताको सिफारिसका लागि जन्मदर्ता र श्रीमान्को नागरिकता खोज्छन् । आफ्नो न त जन्मदर्ता छ न त श्रीमान्को नागरिकता”, सरस्वती सदाले भन्नुभयो, “नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।” नागरिकता नहुँदा राज्यबाट मात्रै नभइ समाजबाट पनि अलग हुनु परेको दुखेसो उहाँले सुनाउनुभयो ।

“नागरिकता नभएकाले गाउँमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छैन”, सरस्वतीले भन्नुभयो । आफ्नो नागरिकता नभएकाले विवाह दर्ता हुन नसकेको भन्दै अहिले छोराछोरीको जन्मदर्ता पनि नबनेको उहाँको दुखेसो छ ।

सोही ठाउँका ६५ वर्षीय देवनारायण सदाले पनि नागरिकता पाउनुभएको छैन । उहाँको नागरिकता नबन्दा उहाँको सिङ्गो परिवार नागरिकताविहीन छ । उहाँको श्रीमती ६० वर्षीया सोसिलादेवी सदा र ३० वर्षीय छोरा खजेन सदाले पनि नागरिकता बन्न नसकेको गुनासो गरेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको हरिपुरमा जन्मिएर करिब ४५ वर्षदेखि बोदे बर्साइन नगरपालिकाको बगबिरामा बस्दै आउनुभएका देवनरायण सदाले बाल्यकालमा नै बुबा र आमालाई गुमाउनु भएको थियो । “अहिले न त बुबाको कुनै प्रमाण छ न त आमाकै”, देवनारायणले भन्नुभयो, “जति प्रयास गर्दा पनि नागरिकता पाउन सकिनँ ।”

पछिल्लो समय सरकारले नागरिकताविहीनका लागि ल्याएको नागरिकता विधेयक सम्बन्धी समाचारले उत्साहित भएको देवनारायणले सुनाउनुभयो । उहाँले कुनै उपायले नागरिकता पाइन्छ कि भन्ने आशा जगाएको बताउनुभयो ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–५, ६ र ७ स्थित दलित बस्तीमा नागरिकताको समस्या अझै भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । वडाहरुमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि ‘व्यक्तिगत घटना दर्ता गराऔँ’अभियानसमेत सुरु गरिएको छ ।

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बोदे बर्साइन नगरपालिका–५, ६ र ७ वडाका दलित समुदायलाई लक्षित गरी व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालु रामले जानकारी दिनुभयो । नागरिकता र जन्मदर्ताबाट वञ्चित रहेका अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेकाले व्यक्तिगत विवरण दर्ताको अभियान थालिएको उहाँले बताउनुभयो ।

जनचेतनाको अभावमा नागरिकता र जन्मदर्ताको महत्व नबुझेर पूर्वजले समयमा जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता नबनाइदिँदा अहिलेका सन्तति पहिचान विहिन बन्नु परेको बोदे बर्साइन नगरपालिका–७ का वडाअध्यक्ष बिजली कापैरले बताउनुभयो । आवश्यक प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको उहाँको भनइ थियो । वडाअध्यक्ष कापैरले नागरिकता विहिन परिवारको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array