थाइल्यान्डलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ असार २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौँ, मलेसियामा जारी एसिसी पुरुष यू–१६ इस्टर्न जोन कप क्रिकेटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको बाँगीमा आज भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । योसँगै प्रतियोगितामा दोस्रो हार बेहोरेको थाइल्यान्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । थाइनयान्ड पहिलो खेलमा घरेलु टोली मलेसियासँग पराजित भएको थियो ।

आजको खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको थियो । जवाफमा थाइल्यान्ड १३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो । थाइल्यान्डका लागि ईसान बेर्नोजीले १६ रन बनाए भने ओपनर डानुफोनले १२ रन जोडे । त्यसबाहके अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

थाइल्यान्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका सन्तोष यादव एक्लैले पाँच विकेट लिए भने अशोक धामीले ३ तथा कप्तान अभिसेक तिवारीले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनाएको थियो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए । त्यस्तै सुर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे ।

थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २/२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १/१ विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा मलेसिया र थाइल्यान्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array