पोर्चुगल पठाउँछु भन्दै कन्चनपुरका शाहीद्वारा मोटो रकम ठगी, बेलारुस पुर्याएर १७ जनालाई अलपत्र पारेको खुलासा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ श्रावण २०८०, शनिबार
3 Min Read
Aa

काठमाडौं । पोर्चुगल पठाउँछु भन्दै १७ जनासँग पैसा असुल गरेका कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाही यतिबेला सम्पर्कविहीन छन् ।
पीडितहरुले आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी गराएका हुन् । शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै आफूसहित १८ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पुर्याएको पीडित राम रोकायले बताए । मस्को पुगेपछि एजेन्ट शाही अर्कै देशतर्फ (बोस्निया) लागेको र अन्य १७ जनालाई प्रवाश नाम गरेका भारतीय एजेन्टले रिसिभ गरेको उनको भनाई छ ।
‘हामी चैत्र २८ गते दिपेश शाहीको माध्यमबाट पोर्चुगल लान्छु भनेर हामी नेपालको एयरपोर्ट हुँदै मस्को गयौं । मस्को गएपछि प्रवाश भन्ने इन्डेन मान्छेले हामीलाई एयरपोर्टमा रिसिभ गरेर होटलमा लैजानुभयो,’– पीडित रोकायले भने ।
आफुहरुलाई मस्कोबाट प्लेन टु प्लेन पोर्चुगल लैजान्छौं भनेपनि त्यहाँबाट ट्याक्सीमा हालेर बेलारुस पुर्याईएको उनले बताए ।
पीडित रोकायका अनुसार बेलारुसमा पनि ८÷१० दिन राखेर त्यहाँबाट पाकिस्तानी एजेण्टको साथ लगाएर पोर्चुगलका लागि पानी नै पानी भएको बाटोबाट लाट्भिया पुर्याइयो । उक्त समयमा लापिबिया प्रहरीले मोबाईल पनि नियन्त्रणमा लिएको र बेलारुसमै फिर्ता पठाएको उनले बताए ।
त्यसपछि आफूहरु अलपत्र अवस्थामा परेको पीडित रोकायले बताए । आफूहरु एक पाकिस्तानी मानिससँग भएको म्यापको आधारमा बेलारुसको पहिलेकै ठाउँमा फर्किएको उनले बताए । त्यसपछि फेरि १५÷२० बेलारुसको होटलमै बसेरको उनले बताए । आफूहरुले नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनबाट डिपोर्ट भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्याण्डतर्फ लगेको उनको भनाई छ । पोल्याण्ड छिर्ने योजना पनि सफल नभएर बेलारुस नै फर्किँदा त्यहाँको प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेपछि आफ्नै खर्चमा नेपाल फर्काइदिएको पीडित रोकायले बताए ।
आफूहरुलाई दलालले फसाएपनि अरु नेपाली नफसुन् भन्ने आफूले चाहेको उनले बताए । पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पुर्याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता होस् भन्ने चाहेको उनले बताए ।
‘हामीजस्ता अरु नफसुन् । हाम्रो लगेको पैसा फिर्ता आओस् । उसलाई कानुनी कारबाही होस् भन्ने हामी चाहन्छौं,’– उनले भने ।
उनकाअनुसार लामो समय पानी भएको ठाउँमा हिँडेको कारण फर्किएका धेरै व्यक्तिहरु अहिले पनि विरामी अवस्थामै छन् । आफूहरु करिब तीन महिनापछि नेपाल फर्किएको उनले बताए ।
त्यस्तै , अर्का पीडित कञ्चनपुर बेलौरीका वियज रानाले पोर्चुगल पठाउँछु भनेर गठी गर्ने शाहीलाई उचित कारबाही गर्न सरोकारवाला निकायहरुको ध्यानाकार्षण गराए ।
पोर्चुगल पुर्याएर भनेअनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई आफूहरुले पैसा बुझाएको पीडितहरुको भनाई छ । पोर्चुगल जानका लागि आफूले शाहीलाई १४ लाख रुपैयाँ बुझाएको पीडित रोकायले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array