भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साह : ‘प्रधानमन्त्री’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ श्रावण २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताउनुभएको छ ।

वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘माधव सर’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा गरिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको छ । यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको छ ।” प्रधानमन्त्री प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानमा दृढतापूर्वक साथ र सहयोग एवं ऐक्यबद्धता व्यक्त गर्नुहुने आम जनसमुदायमा हार्दिक आभारसमेत प्रकट गर्नुभयो ।

उहाँले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको वामपन्थी आन्दोलन, शैक्षिक जगत र साहित्यिक क्षेत्रमा मरहठ्ठाले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो “जनयुद्धको आधार इलाकाका रूपमा गोरखा जिल्लाको जुन पहिचान, छवि र योगदान स्थापित छ, त्यसका पछाडि मरहठ्ठा सरजस्ता बौद्धिक, जुझारू र क्रान्तिकारी योद्धाको निष्ठा, त्याग, समर्पण र बौद्धिक सिर्जनशीलता अन्तरनिहित छ ।”

मरहठ्ठाको भूमिका र योगदान परिवर्तनको आन्दोलन, शैक्षिक रूपान्तरण र प्रगतिशील संस्कृति निर्माणका दृष्टिले अमर रहने प्रधानमन्त्रीको भनाइ छ ।

पुस्तकमा ‘माधव सर’को जीवनी, योगदान र प्रेरणालाई बहुआयाममा उल्लेख गरिएको छ । पुस्तकमा परिचय खण्ड, परिवारको दृष्टिमा, इष्टमित्रको दृष्टिमा, राजनीतिज्ञ र साथीभाइको दृष्टिमा र विद्यार्थीको दृष्टिमा माधव सरको व्यक्तित्वलाई विविध कोण र विश्लेषणका साथ चर्चा गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको बताउनुभयो ।

“सरकार गठनको सात महिनासम्म पुग्दा जे-जति मेहनत गरिएको छ, त्यसबाट जे-जस्ता उपलब्धिहरू हासिल भएका छन्, त्यसले देश र जनताको पक्षमा इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाणित गर्दछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । पुस्तक माधवप्रसाद मरहठ्ठा स्मृति फाउन्डेसनले प्रकाशन गरेको थियो ।

उक्त पुस्तक घोष्ट राइटिङ नेपालले तयार पारेको हो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेता हितराज पाण्डे, कल्पना धमलालगायतको उपस्थिति थियो । रासस

प्रतिक्रिया दिनुहोस्

Array