आफूहरूलाई कोशी प्रदेश सरकारको सत्ता प्राथमिकताको विषय नभएको जानकारी गराए : राजेन्द्र लिङ्देन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई कोशी प्रदेश सरकारको सत्ता प्राथमिकताको विषय नभएको बताएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेश सरकार गठनका लागि राप्रपाले तटस्थ भुमिका निर्वाह गर्ने प्रस्टाएका हुन्। प्रदेश सरकार गठनका लागि गरिएको आह्वान समयसीमा सकिँदै गर्दा राप्रपाले आफूलाई कतै प्रस्तुत नगर्ने जनाएका अध्यक्ष लिङ्देनले प्रदेशमा कांग्रेस र एमालेले मिलेर सरकार चलाउन सुझाव दिए। उनले भने,’अहिले हामीलाई सत्ता प्राथमिकताको विषय छैन। हामीले कांग्रेस र एमालेलाई बहुमत बनाएर सरकार चलाउन सुझाव दिएका छौँ। सो ठूलो बहुमतले भोलिका दिनमा बाधा अड्चन आउन दिनेछैन। विधेयक पारित गर्दापनि सहज हुन्छ।’

अहिलेको राजनीतिक गाठो फुकाउन संविधानको धारा १६८ को उपधारा २ अन्तर्गत दलहरू अघि बढिरहेको बताएका अध्यक्ष लिङ्देनले बाँकी १६८ धाराको ५ उपधारा पुग्दासम्म राप्रपा निर्णायक हुने बताए। उनले भने,’अहिले सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा २ मा घटनाक्रम चलिरहेको छ। यो श्रृखला सोही धाराको उपधारा ५ सम्म पुग्ला। त्यहाँसम्म पुग्दा दलहरुले आफै समाधान निकाल्लान्। त्यससम्म पनि समाधान ननिस्किँदा र हामी नै निर्णायक देखियौँ भने पार्टीको बैठक बसेर निर्णय गर्नेछौँ।’ सरकार गठनका लागि चलिरहेको छलफल र आह्वानका क्रममा संविधानका विभिन्न धाराबाट निकास खोजि भइरहेको अवस्थामा राप्रपाको सहयोग कुनै दललाई नहुने उनले बताए। उनले भने,’अहिलेको अवस्थामा हामी कसैलाई सहयोग गर्दैनौँ। अहिले सरकार गठनका लागि भइरहेको धाराहरुको उपयोगमा हाम्रो कुनै प्रकारको सहभागिता हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

Array