“सामाजिक सुरक्षा कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्वपूर्ण” : प्रधानमन्त्री दाहाल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३१ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणका लागि महत्वपूर्ण रहेको बताएका छन् । बुधबार अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक कोषले शारीरिक अशक्ततता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीमा यो अभियानले ‘ब्रेक थ्रु’ हुने बताउँदै भने, ‘सामाजिक सुरक्षा कोष समाजका उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिकलगायतका वर्गको संरक्षणको लागि महत्वपूर्ण संयन्त्र हो ।’

श्रमिकको पेशा र श्रमको सम्मान स्थापित गर्ने यो सामाजिक सुरक्षाको संयन्त्रमा आन्तरिक उत्पादन चक्रलाई नै सक्रिय बनाई समग्र उत्पादकत्व अभिवृद्धि गराउन सक्ने क्षमता राख्ने उनको भनाइ छ ।‘यस्तो कोषमा श्रमिकको भरोसाका आधारहरू लुकेको हुन्छन् । अनौपचारिक क्षेत्र खासगरी कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीमा यो अभियानले ‘ब्रेक थ्रु’ गर्ने मैले विश्वास लिएको छु’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४’को प्रभावकारी कार्यान्वयन गर्नु जरूरी रहेको बताए । कोषमा आबद्ध हुने रोजगारदाता र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाका लाभहरुबाट बञ्चित नहोउन् भन्ने कुरा सुनिश्चित गर्न ऐनको कार्यान्वयनका लागि नियमनकारी निकायहरूलाई परिचालन गरी थप व्यवस्थित गर्नेतर्फ सरकारको विशेष ध्यान रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘श्रमिकहरू इतिहासका निर्माता र मुलुकको समृद्धिका संवाहक हुन् भन्ने कुराको गहिरोबोध गरेर सबै श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानअन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षा योजनाका शुभारम्भ म आफैंले गरेको थिएँ । फेरि आज अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई समेत सामाजिक सुरक्षाको योजनाभित्र आबद्ध गराउने कार्यको शुभारम्भ गराउने घोषणा गर्न पाउँदा गौरवान्वित महसुस भएको छ ।’

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिसमेत जोडिन पुगेपछि नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर हुने छैनन् भन्ने सन्देश प्रवाह भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भने, ‘आजको दिनलाई श्रमिक अधिकार स्थापनाको एउटा महत्वपूर्ण ऐतिहासिक दिनका रूपमा लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

Dristhi

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array