विश्व च्याम्पियनसिपको निर्णायकमा धमला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं, नेपाल आईटिएफ तेक्वान्दो महासंघका निवर्तमान अध्यक्ष अन्जन धमलाले काजाखस्तानमा जारी २२ औं आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्दैछन् । आईटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका गर्ने धमला नेपालका पहिलो भएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य समेत रहेका धमलाले आगामी ३० अगस्टसम्म सञ्चालन हुने विश्व च्याम्पियनसिपमा निर्णायक गर्दैछन् । आईटिएफका छैटांै डान धमला ‘ए’ क्लास अन्तर्राष्ट्रिय अम्पायर हुन् । काजखस्तानको अस्तनामा जारी विश्व च्याम्पियनसिपमा उनले जापान र कोरिया, ताजखस्तान र भारत, स्पेन र अर्जेन्टिना तथा रसिया र फिलिपिन्सका खेलाडीबीचको प्रतिस्पर्धामा निर्णायक गरेको नेपाली टोलीका प्रशिक्षक रूपसिंह मोक्तानले जानकारी दिए ।

धमला एसियन तेक्वान्दो फेडेरेसनका कार्यकारी सदस्य र दक्षिण एसियाली तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष हुन् । जारी विश्व च्याम्पियनसिपमा ९३ वटा देशबाट ९०० भन्दा बढी खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट एक मात्र निर्णायकसँगै चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका पुकार केसीले पनि आज चुनौती प्रस्तुत गर्दैछन् । विश्व च्याम्पियनसिपमा पहिलो पटक निर्णायक भूमिका गरिरहेका धमलाले विश्वभरका आईटिएफ तेक्वान्दोका खेलाडीहरूका लागि ठूलो महोत्सवमा निर्णायकको भूमिका निर्वाह गर्न पाउनु ठूलो उपलब्धि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array