संघीयताको पुनर्संरचना भएन भने देश टुक्रा–टुक्रा हुन्छ, सात राज्य बन्छः वामदेव गौतम

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० भाद्र २०८०, बुधबार
5 Min Read
Aa

काठमाडौं, नेकपा एकता राष्ट्रिय अभियानले केन्द्रीय समिति बैठकको निर्णयहरु सार्वजनिक गरेको छ । आज (बु्धबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियानले गत भदौ १७ र १८ गते भएको केन्द्रीय समिति बैठकको २२ बुँदे निर्णय सार्वजनिक गरेको हो । बैठकका निर्णय नेपाल–भारतबीचमा रहेका सीमा समस्या समाधानका लागि दुईदेखबीच वार्ता थाल्नुपर्नेदेखि प्रदेश संरचना खारेजसम्म रहेका छन् ।
बैठकको निर्णय सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको प्रश्नोत्तरमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले भारत–भारतबीच वस्तुदेखि मान्छेसम्म तस्कर भइरहेको बताए । उनले खुल्ला सिमाना बन्द गराउन आवश्यकता रहेको बताए ।
‘खुल्ला सीमानाबाट नेपालबाट भारतमा, भारतबाट नेपालमा तस्करी भइरहेको छ । मान्छे, वस्तु र पैसाको पनि तस्करी भएको छ, सबै किसिमको तस्करी भएको छ । त्यसलाई रोक्नसक्दा मात्रै हामी समृद्ध हुनसक्छौं,’– उनले भने ।
खुल्ला सीमानाको अन्त्य गर्दा भारतले पनि गुनासो गर्नपर्ने अवस्था नआउने उनको भनाई छ । क्यानडा र अमेरिकाबीचमा कही कतैमात्रै खुल्ला सीमाना रहेको बताउँदै उनले संसारमा नेपाल–भारतबीचको जस्तो खुल्ला सीमाना नरहेको र यो देशका लागि घातक हुने बताए ।
खुल्ला सीमानाका कारण भारतबाट तस्करी गरेर सामन नेपाल ल्याउने र भन्सार छलेर ल्याइएको सामन नेपाली उत्पादनभन्दा सस्तोमा विक्री गर्ने प्रवृत्ति कायम रहेको उनको दाबी छ । यस्ता प्रकारका गतिविधिले नेपाली उत्पादन र किसानहरुलाई निरुत्साहित गरेको उनको दाबी छ ।
नेपालका कम्युनिष्टहरुको सिद्धान्त, नीति र गन्तव्य एकै भएकाले एउटै पार्टी बनेर देशको नेतृत्व गर्नुपर्छ भन्ने सोचका साथ नेकपा एकता राष्ट्रिय अभियानको सुरु भएको उनको भनाई छ । अहिले पनि कम्युनिष्टहरुलाई नै दुईतिहाई बहुमत रहेको
दाबी गर्दे उनले सबै कम्युनिष्ट शक्तिहरुलाई एकढिक्का बनाउन सकेको अवस्थामा छोटो समयमा नै देशमा समृद्धि सम्भव रहेको बताए ।
‘नेकपा एकता राष्ट्रिय अभियानको उद्देश्य नेपालका वामपन्थी कम्युनिष्टहरु, समाजवादी कम्युनिष्टहरु यिनीहरुलाई एक ठाउमा ल्याउने । किन कि यिनीहरुले भन्छन्, हाम्रो सिद्धान्त एउटै हो, हाम्रो नीति पनि एउटै हो, हाम्रो गन्तव्य पनि एउटै हो । जब सबै एउटै हो भन्छन् भने साना–साना पार्टी किन बनाउन पर्यो ?’ प्रश्न गर्दै उनले भने, ‘सबैसँगै बस्ने, जनताको समर्थन अहिले पनि दुईतिहाई छ यिनीहरुलाई । त्यो समर्थनमा आधारित भएर सरकार चलाउने । सुरुदेखि नै के काम गर्ने भनेर हामीले कार्यक्रममा अगाडि सारेका छौं ।’
समाजवादी विचार लिएर हिँड्नेहरु एकतावद्ध भएर अगाडि बढेको खण्डमा देशलाई १० वर्षमा समृद्ध बनाउन सकिने उनको दाबी छ ।
साथै, उनले नेपालमा संघीयताको पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् । तलको काम स्थानीय सरकारले गर्ने र माथिका काम संघीय सरकारले गर्ने बताउँदै उनले प्रदेशको काम केवल सांसद हुने र तलब भत्ता खानेमात्रै भएको टिप्पणी गरे । उनले प्रदेश संरचना नेपालको निम्ति बोझ भएको बताए ।
‘नेपाली संघीयताको तीन तह छ, माथि केन्द्र छ, तल स्थानीय तह छ, बीचमा प्रदेश छ । प्रदेशको के अधिकार छ भन्दा केही पनि छैन । के निर्माण गर्ने हो भन्दा केही पनि छैन ।’ उनले भने, ‘तलको काम सबै स्थानीय तहले गर्छ, माथिको काम केन्द्रले गर्छ । यसको के काम छ ? निर्वाचित हुने अनि सांसदहरुले भत्ता खाने तलब खाने । सरकार चलाउने त्यसले पनि त्यसै गर्ने । प्रदेश संरचना हाम्रो देशको निम्ति बोझभन्दा अर्को छैन ।’

सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएर सात सय ५३ पालिकालाई दुई सय पाँचमा ल्याउन आवश्यक रहेको बताए । केही संरचनाहरु सुधार गरेर आजभन्दा पनि बढि अधिकार स्थानीय तहलाई दिन आवश्यक रहेको उनको भनाई छ ।

संघीयतालाई परिमार्जन गर्न नसके देश टुक्रा–टुक्रा हुने उनले दाबी गरे । देश सात वटा राज्य बन्ने खतरा रहेको उनको टिप्पणी छ ।
‘अहिलेको संघीयतालाई परिमार्जन भएन भने देश टुक्रा–टुक्रा हुन्छ र सात वटा प्रदेशमा सात वटा राज्य बन्छ ।’ उनले भने ‘चल्न सक्दैनन्, नसकेपछि कोही चीनतिर मिसिन जाने, कोही भारततिर मिसिन जाने । यस्तो किसिमको स्थिति सिर्जना गर्ने हुनाले प्रदेश खारेज गर्नपर्छ ।’
आफैं राष्ट्रिय सभा सदस्यसमेत रहेको गौतमले नेपालमा राष्ट्रिय सभाको आवश्यकता र औचित्य नै नरहेको बताए । १७औं शताब्दीमा बेलायतमा सामन्तलाई खुसी पार्न राष्ट्रिय सभाको अभ्यास सुरु भएको स्मरण गराउँदै उनले नेपालमा ५९ जनालाई तलब खुवाएर राख्न आवश्यक नरहेको बताए ।
उनले महाकाली सन्धि गलत रहेको बताउँदै त्यसलाई सच्याउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

Array