‘सेभ द अर्थ एण्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रुपमा एक हजार वटा म्याराथन गर्दै नवीन पुन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ भाद्र २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं, ‘माटो जोगाऊँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा ३५ सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रुपमा एक हजार वटा म्याराथन गर्ने भएका छन् । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अभियानको जानकारी गराइएको हो ।  पृथ्वीको बिग्रिँदै गरेको वातावरण र पर्यावरण बचाउन र मान्छेले मान्छेका अधिकार प्राप्त गर्नका लागि विश्वभरी घच्घच्याउन अभियान सुरु हुन लागेको बताईको छ । कार्यक्रमको नाम ‘सेभ द अर्थ एण्ड ह्युमानिटी’ राखिएको छ ।
विश्वभरका एक सय ५० भन्दा बढि देशमा म्याराथन सञ्चालन हुने बताइएको छ । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथ आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथुन हुनेछन् ।  धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताइएको छ । कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ । उक्त मापदण्डको आधारमा उनले एक हजार वटा म्याराथन गर्ने भएका हुन् । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफ्गानिस्थान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने बताइएको छ । एक हजार वटा म्याराथुनका लागि साढे तीन वर्षको समयावधि छुट्याइएको धावक पुनले बताए ।
म्याराथुन दोस्रो चरणमा युरोपमा, तेस्रो अफ्रिका, चौथो अमेरिका र पाँचौं चरणमा अष्ट्रेलियामा हुने बताइएको छ । एक हजार वटा म्याराथुन आफैंमा च्यालेन्जिङ रहेको पुनले बताए । म्याराथुनका क्रममा सम्बन्धित सरोकारवालाहरुसँग छलफल र सचेतनामूलक कार्यक्रम गरिने उनले बताए ।
‘पृथ्वी र मानवता जोगाउन हामीले सँगसँगै सचेतनामूलक कार्यक्रम गर्छौं । ध्यानाकार्षण कार्यक्रम गर्छौं । पृथ्वी र मानवता सम्बन्धी संकटहरु आइरहेका छन् । त्यसको बारेमा जानकारी गराउँदै हिड्छौं,’– पुनले भने ।
म्याराथुनले सबै देशलाई पृथ्वी र मानवता बचाउनका लागि पोलिसी निर्माणमा सहयोग पुर्याउने उनले बताए । यो अभियान सबै मानिस र देशको साझा सवाल भएको उनले बताए । रन टू सेभ स्वेल नेपाल वेबसाईड, सेभ अर्थ एण्ड ह्युमानिटी फेसबुक पेजमार्फत अभियानमा जोडिन र अभियानबारे धेरै कुरा थाहा पाउन सकिने उनले बताए ।
अभियान्त ज्ञानु आचार्यले पुन विश्वमा वायु प्रदुशन बढेको, माटोमा रहेको प्राङ्गारिक तत्व नष्ट हुँदै गएको, तापमान बढेर समस्या भएको, हिउँ पग्लेर हिमालहरु काला पहाड बनेको, जीवजन्तु र मानवको बासस्थान असुरक्षित भएको प्रति चिन्तिर रहेका बताईन् । यस्ता समस्याको समाधान मान्छेले नै गर्नपर्ने पुनको बुझाइ रहेको आचार्यको भनाई छ ।
विश्वव्यापी अभियानमा पुनले सबै देशका शासक र नीति निर्माताहरुलाई मानवता र पृथ्वीको पर्यावरणमैत्री बन्न अनुरोध गर्दै अभियान सञ्चालन गर्न लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Array