सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने : अर्थमन्त्री डा. प्रकाशशरण महत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ भाद्र २०८०, सोमबार
3 Min Read
Aa

काठमाडौं,  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताउनुभएको छ । ११० औँ बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले अबको चार वर्षसम्म काठमाडौँ–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताउनुभयो । उहाँले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने जानकारी दिनुभयो । उहाँले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताउनुभयो ।

‘‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ । अब भारत र चिनियाँ पर्यटकहरूलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ । हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन । हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायाैँ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्याक भएपछि ४५ मिनेटमा काठमाडौँ आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’’

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताउनुभयो । उहाँले आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने जानकारी दिनुभयो । उहाँले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने जिकिर गर्नुभयो ।

‘‘हाम्रो देश धेरै काम गर्न बाँकी भएको देश हो । बाहिर जाने हो सानो कुरामा बस्नुपर्छ । यहाँ तपाई आफैँ इन्चार्ज बन्न सक्नुहुन्छ, यहाँ धेरै गर्नसक्ने सम्भावना छ । यहाँ ठुलो भविष्य छ । र नेपालमा आर्थिक क्रान्ति हुनसक्छ, हामी केही होइन, छोडौँ, यो देश भन्ने लघुतावास राख्नु हुँदैन । विदेशकै नागरिक भइसके पनि नेपालीलाई यहाँ राजनीतिक र भोट हाल्ने अधिकार बाहेक सबै दिएका छौँ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘विदेशी मुद्रामा पनि लगानी गर्न पाउने व्यवस्था गरेका छौँ । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्छ । शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै सरकारले लगानी गर्नुपर्छ । बाँकी उत्पादनमा निजी क्षेत्रलाई छोड्नुपर्छ । वितरणको कुरा छ, त्यसमा सरकारले जिम्मा लिनुपर्छ । वितरणको नेतृत्व सरकारले गर्ने हो, उत्पादनमा मेन सहायक हुने हो, निजी क्षेत्रलाई ड्राइभर बनाउने हो ।’’ अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताउनुभयो ।

Gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array