शिक्षक आन्दोलनका सम्बन्धमा : सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ आश्विन २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं । नेपाल सरकारले संसदमा दर्ता गरेको “विद्यालय शिक्षा विधेयक” लाई लिएर मुलुकभरका शिक्षकहरु आन्दोलनमा उत्रिएको वर्तमान अवस्थामा सबै किसिमका जायज माग र भावनालाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान निकाल्न सकिन्छ भन्ने दृढ विश्वासका साथ सरकार र आन्दोलनरत पक्ष बीच भैरहेको वार्तालाई नेपाली कांग्रेस हार्दिक स्वागत गर्दछ ।

विद्यालय शिक्षाको विद्यमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीको बर्षौ देखिका समस्याहरु समाधान गर्न समयानुकूलको ऐन बहुप्रतिक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाहरुका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्वपूर्ण बिषयहरु समेट्नु एकातर्फ सुखद छ भने अर्कातर्फ कतिपय सन्दर्भमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लगायतको संविधानको मर्मलाई पूर्ण रुपमा आत्मसात गर्न सकेको छैन । साथै, विद्यालय शिक्षक र विद्यालय कर्मचारीहरुको जायज र उपयुक्त मागलाई समेत सम्बोधन गर्न नसकेको देखिन्छ । यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन÷संशोधन गर्न पर्ने विषयहरु छन् ।

संसदमा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहलकदमी लिने प्रतिवद्धता समेत जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ता र संवादबाट यथाशीघ्र समस्याको समाधान खोज्न र पठन–पाठन सुचारु हुने वार्तावरण निर्माण गर्न कार्यसमितिको यो बैठक अपिल गर्दछ ।

मुलुकको समग्र समुन्नतिको मार्गप्रशस्त गर्ने प्रारम्भिक थलो विद्यालयहरु नै हुन् । विद्यालय शिक्षामा सम्पुर्ण सुधार गर्दै शिक्षक र शिक्षण पेशालाई प्रतिष्ठित, मर्यादित र आकर्षक बनाउनु हामी सबैको दायित्व हो । यस दिशामा सबैको साझा प्रतिबद्धता र प्रतिबद्धता अनुरुपको भुमिकाका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

Array