२ करोड ५ लाख ऋण दिएबापत बैकको शाखा प्रवन्धकले ५० लाख असुलेको भन्दै उजुरी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ आश्विन २०८०, शुक्रबार
3 Min Read
Aa

रौतहट — रौतहटको गरुडा बजारमा रहेको एनआईसी एसिया बैंकले कृषि ऋण दिएबापत ऋणीसित रकम असुलेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय गौरमा ठगीसम्बन्धी उजुरी दिएका छन् । प्रशासनले उजुरीको छानबिनका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छ । यस घटनामा प्रहरीले निवेदक र बैंकका शाखा प्रमुखसित बयान लिएको छ ।
एनआईसी एसिया बैंक गरुडा शाखा प्रमुख आमोद गुप्ताले अम्बे कृषि फर्मलाई २ करोड ५ लाख ऋण दिएबापत ५० लाख असुलेको भन्दै असोज २ गते प्रशासनमा ठगीसम्बन्धी उजुरी परेको हो । प्रबन्धक गुप्ताले दुर्गा भगवती–१ स्थित अशोका एग्रिकल्चर प्रालिका सञ्चालक अशोककुमार साहलाई ४ करोड ७५ लाख रुपैयाँ ऋण दिएबापत ८५ लाख, जय बाबा बैजनाथ एग्रिकल्चर चन्द्रपुर–९ का सञ्चालक राकेश साहलाई ३ करोड २० लाख ऋण दिएबापत ७० लाख, अनु कृषि फर्म चन्द्रपुर –५ का सञ्चालक चिन्टु रायलाई ३ करोड ५० लाख ऋण दिएबापत ३० लाख र आकार कृषि फर्म दुर्गा भगवती गाउँपालिकाका अरुण साहलाई ३ करोड १० लाख रुपैयाँ ऋण दिएबापत ३० लाख रकम लिएको आरोप छ ।

प्रमुख गुप्ताले ऋणीहरूसित खाली चेकमा हस्ताक्षर गर्न लगाई विभिन्न मितिमा विभिन्न व्यक्तिको नाममा चेक काटेर गरुडाकै व्यापारी बादल गल्ला भण्डारको खातमा जम्मा गरेको खुलेको छ । गल्ला भण्डारका सञ्चालक हाल फरार छन् । उलने बैंकबाट ४ करोड ऋण लिएर फरार भएका हुन् । प्रमुख गुप्ताले फरार ब्यक्तिको खातामा ऋण मिलाउन अर्कालाई ऋण दिएर रकम अशुलेको आरोप छ ।

सबै ऋण कृषि प्रयोजनका लागि बैंकले लगानी गरेको हो । ऋण स्वीकृत गरेपछि प्रमुख गप्ताले अशोका एग्रिकल्चरका सञ्चालक अशोककुमार साहसँग नौ वटा खाली चेकमा हस्ताक्षर गराई ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सुरक्षा गार्ड धर्मेन्द्रकुमार महतोको नामबाट ९ लाख ९५ हजार बादल गल्लाभण्डारको खातामा रकम जम्मा गरेको खुलासा भएको छ ।

त्यस्तै सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, सञ्जय यादवको ९ लाख ९५ हजार, पाना देवीको ९ लाख ९५ हजार, रामबच्चु राउतको ९ लाख ९५ हजार, आरएनकुमार साहको ९ लाख ९५ हजार र आशा देवीको नाममा ५ लाख ३४ हजारको चेक काटेर बादल गल्ला भण्डारको खातामा जम्मा गरेको हो । अन्य ऋणिको पनि यसै गरि रकम जम्मा भएको देखीन्छ ।बैंकबाट ऋण लिएर फरार भएका बादल गल्ला भण्डारको ऋण मिलाउन प्रमुख गुप्ताले कृषि ऋण दिएबापत रकम अशुलेका हुन् । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बैंकका शाखा प्रमुख गुप्ता र निवेदकहरूसित बयान लिने काम भइरहेको बताए । ‘बैकले ऋणीसित किन र के प्रायोजनका लागि रकम लिएको भन्ने अनुसन्धान जारी छ,‘उनले भने,‘घटनाको गहिराइसम्म पुग्न केही समय लाग्छ ।’

कृषि ऋण दिएबापत सबैले खाली चेक प्रबन्धक गुप्तालाई दिएका थिए । प्रबन्धक गुप्ताले भने ऋणीहरूसित सल्लाह गरेरै रकम बादल गल्ला भण्डारमा जम्मा गरेको दाबी गरेका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले एनआईसी एसिया बैंकको गरुडा शाखा प्रबन्धक गुप्ताउपर परेको रकम ठगीसम्बन्धी उजुरी गम्भीर प्रकृतिको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array