सिटौलाको देश दौडाहा, सन्देश के ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ आश्विन २०८०, बिहीबार
8 Min Read
Aa

काठमाडौँ — शान्ति प्रक्रिया र संविधान निर्माणका बेला दलहरूबीच समन्वयात्मक भूमिका निभाएका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टी र राष्ट्रिय राजनीतिको अग्रपंक्तिमा छैनन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनपछि त झन् चुपचाप थिए ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवाको सहयोगी बनेका उनले महामन्त्रीमा आफ्नो समूहबाट प्रदीप पौडेललाई उम्मेदवार बनाए । तर महाधिवेशन सकिएपछि पौडेलले पनि सिटौलाको साथ छोडे ।गतवर्ष झापा–३ बाट लगातार दोस्रो पटक चुनाव हारेपछि सिटौला थप शक्तिहीन र सिथिल भए । गत महाधिवेशनमा आफ्नो गुटलाई सभापति देउवासँगै सामेल गराएका नेता सिटौला अहिले फेरि आफ्नै गुट शक्तिशाली बनाउने मिसनमा छन् ।

सिटौलाले १५ औं महाधिवेशनलक्षित सक्रियतामात्रै देखाएका छैनन्, देश दौडाहा नै थालिसकेका छन् । सिटौलाले हालै पूर्वदेखि पश्चिमसम्म सात प्रदेशको यात्रा गरे, र नेता कार्यकर्ताका कुरा सुने । संविधानसभामा मस्यौदा समितिको सभापति रहेका सिटौला अहिले त्यही संविधानको कार्यान्वयनबारे प्रश्न उठाउँदै–जनमत बनाउँदै देश डुलिरहेका छन् । उनीनिकट नेताहरूले ‘नेपाली कांग्रेस संवाद केन्द्र’ स्थापना गरेर सिटौलाको देश दौडाहाको जमर्को मिलाएका छन् ।‘संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका’ विषयमा सातै प्रदेशमा संवाद केन्द्रले गरेका कार्यक्रममा युवा नेताहरू र सहभागीले संविधान कार्यान्वयन, पार्टी र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाए । सिटौलाले स्रोता बनेर सुने ।

सिटौलानिकट कांग्रेस केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, कोशी प्रदेशका महामन्त्री एवम् संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राई र गण्डकी प्रदेशका सांसद एवम् बागलुङ सभापति जित शेरचनले संवाद केन्द्रको संयोजन गरेका छन् । संविधान जारी भएको आठ वर्षसम्म पनि संविधानअनुकुलका कानूनहरू नबनेको र त्यसमा जनप्रतिनिधिको भूमिकासमेत कमजोर देखिएको उनीहरूको ठहर छ ।संविधान कार्यान्वयनमा जनप्रतिनिधिको भूमिकाकै सन्दर्भमा केन्द्रले साउन, भदौ र असोजमा सात प्रदेशबाट जनताको धारणा सुनेको छ । केन्द्रले २१ साउनमा काठमाडौं, ५ भदौमा विराटनगर, १३ भदौमा पोखरा, १६ भदौमा जनकपुरधाम, २५ भदौमा भैरहवा, १० असोजमा धनगढी र २२ असोजमा सुर्खेतमा कार्यक्रम गरेको थियो ।

सबै कार्यक्रममा नेता सिटौला, उनीनिकट सहमहामन्त्री उमाकान्त चौधरी र केन्द्रीय नेताहरू सहभागी थिए । सातै प्रदेशका राजधानी पुग्दा सिटौलाले पार्टीका भेटघाट र कार्यकर्ताहरूसँग छलफल गरे । सिटौलाले आगामी महाधिवेशनकालागि आफूले तयारी थालेको भनेका छैनन् । त्यसो त सातै प्रदेश पुग्दा समेत सिटौलाले अहिले पार्टीभन्दा देश र संविधानकै चिन्ता गर्ने बेला रहेकोमा जोड दिए । तर उनीनिकट नेताहरू भने अभियानलाई पार्टीभित्र शक्ति संघर्षकै एउटा पाटोकारुपमा स्वीकार गर्छन् ।

‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको आठ बित्यो, कानून बनेका छैनन्, जनताले संविधानमा लेखिएको अधिकारको अनुभूति गर्न पाएनन्,’ केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले इकान्तिपुरसँग भने, ‘यो सबै कुनै न कुनैरूपमा पार्टीको नेतृत्व र उसको खुबीमै जोडिने कुरा हो । आज देश समस्यैसमस्याले गिजोलिएको छ, युवा शक्ति देशमा अडिन चाहेको छैन, जग्गा जमीन बाँझिएको छ, आर्थिक मन्दी छाएको छ, भोलिका लागि चुनौती झन् बढ्दैछन्, त्यसैले यस्तो समस्याबाट मुक्तिकालागि पनि अब अब्बल र सबैलाई मिलाएर अघि बढ्ने नेतृत्वको खाँचो छ ।’ अब यही अजेण्डा लिएर आफूहरू जिल्लास्तरसम्म पुग्ने र संविधानको पूर्ण कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने उनी बताउँछन् ।

सिटौलाले भने संविधान आएपछि सर्वसाधारणको जीवनमा आएको परिवर्तन हेर्न देश घुमेको बताएका थिए । ‘युवा साथीहरूले अहिले संवाद केन्द्रमार्फत यो अभियान चलाएकोप्रति खुसी छु, यसले अहिलेको पार्टीको स्थितिमात्रै होइन, समग्र देश र संविधान कार्यान्वयनको स्थितिमा छलफल गरौं भनेपछि म पनि देश घुम्न निस्किएको छु,’ १६ भदौमा मधेश प्रदेश पुगेर कार्यकर्ता भेटघाटको क्रममा सिटौलाले भनेका थिए, ‘खास सर्वसाधारण नेपाली जनताको जीवनमा संविधान आएपछि के भयो ? अहिले कस्तो अवस्था छ ? जान्न मन छ । यो कुराले हाम्रो अबको राजनीतिक भविष्य निर्धारण गर्छ ।’

त्यसक्रममा नेपालको परम्परागत विकास मोडेलमा सुधार गर्नुपर्ने सिटौलाको जोड थियो । ‘हामीले आगामी निर्वाचनको एक वर्ष अगावै नयाँ रोडम्यापसहित जनताको जीवनका बहुआयमिक पक्षहरूलाई समेटेर बृहत् योजनासहित अघि बढ्ने तयारी गर्नुपर्छ,’ सिटौलाले अघि भनेका थिए, ‘हामीले देशलाई साँच्चिकै समृद्धिको मार्गमा अघि बढाउने हो भने अब नेपालको परम्परागत विकास मोडेल पनि परिवर्तन गर्न आवश्यक छ ।’

सातै प्रदेशमा भएका कार्यक्रममा सिटौलाले आफू देशभरि डुलेपछि संविधान कार्यान्वयन र जनप्रतिनिधिको भूमिकामाथि जनताको धारणालाई एकीकृत गरेर पार्टी र सरकारको नेतृत्वसमक्ष पुर्‍याउने वचन दिएका छन् ।नेता भीमसेनदास प्रधानकाअनुसार यो अभियान सिटौलाको शक्तिसञ्जयको प्रयास हो । सिटौलाको समन्वयात्मक नेतृत्व क्षमताकै कारण पनि अहिलेको अवस्थामा उनको नेतृत्व सान्दर्भिक हुन सक्ने प्रधानको दाबी छ । ‘अहिले उहाँ शक्तिमा हुनुहुन्नँ । तर पनि उहाँको वरिपरि कार्यकर्ताको समूह छ । वास्तवमा अहिलेको उपलब्धि भनेको उहाँको नेतृत्वमा आएको हो,’ प्रधानले भने, ‘उहाँको नेतृत्वमा संविधान बन्यो, अब कार्यान्वयन पनि उहाँकै नेतृत्वमा सार्थक बनाउनुपर्छ भनेर सुझावहरू आएका छन् ।’

अहिले देशभरि अभियानको क्रममा पनि फेरि एकपटक सिटौलाले पार्टीको नेतृत्वमा आउन प्रयास गर्नुपर्ने सुझाव आएको उनले बताए । ‘तपाईं समन्वय र सहकार्यको वातावरण बनाउन सक्ने नेता हो । पार्टीमा सबैलाई मिलाएर अघि बढ्नुस्, कार्यकर्तालाई पनि तपाईंले नै मिलाउन सक्नुहुन्छ भनेर सुझावहरू आएका छन्,’ सिटौलाबारे प्रधानले इकान्तिपुरसँग भने ।

सातै प्रदेशमा भएका कार्यक्रममा सर्वसाधारणले संविधानप्रति निराशा पोखेका छन् । ‘संविधानले अधिकार दियो, तर त्यसको कार्यान्वयन गर्ने कुरा जनप्रतिनिधिको केन्द्रमा परेन, जनप्रतिनिधिले संविधानबमोजिमको अधिकार दिलाउने काम गर्नुभएन भन्ने गुनासो धेरै छ,’ सिटौलानिकट नेता बलदेव तिमल्सिनाले भने, ‘संविधान कार्यान्वयन भएपछि जनताले के सोचिरहेका छन् भनेर जान्नु नै यो अभियानको मुख्य ध्येय थियो । मुलतः संविधान कार्यान्वयनमा गइसकेकै छैन, त्यसकारण पनि संविधानप्रति सर्वसाधारणको निराशा बढिरहेको छ ।’

अब सिटौलाको शक्ति कति ?

कांग्रेसको १३ औं महाधिवेशन हुने बेलासम्म सिटौला तत्कालिन संस्थापन समूहमै थिए । त्यसबेला सभापति सुशील कोइराला बितेपछि संस्थापन समूहबाट सभापतिको उम्मेदवार बन्न प्रतिस्पर्धा चल्यो । सिंगो गुटबाट रामचन्द्र पौडेलले आफूलाई उभ्याउँदा सिटौलाले पार्टीमा तेस्रो समूह खडा गरे । महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाएर सभापतिको प्रत्यासी बनेका सिटौलाले ३२४ मत पाए, दोस्रो चरणमा निर्णायक बनेर देउवालाई सघाए । त्यसयता निरन्तर सभापति देउवासँगै रहेपनि सिटौलाले गगन थापा, प्रदीप पौडेल र उमाकान्त चौधरीसहितको समूह खडा गरेर पार्टीमा तेस्रो धारको नेताकारुपमा आफूलाई उभ्याएका थिए ।

१३ औं देखि १४ औं महाधिवेशनसम्मको अवधिमा सिटौलाले पार्टीभित्र र सत्ता दुवैतिर राम्रो भागबन्डा लिए । त्यसबेला सिटौलाकै जोडबलमा गगन थापा स्वास्थ्यमन्त्री बनेका थिए भने भीमसेनदास प्रधान रक्षामन्त्री । तर १४ औं महाधिवेशनसम्म भने उनको त्यो शक्ति टिकेन । अहिलेसम्म सिटौलाले महामन्त्री उम्मेदवार बनाएका थापा र पौडेल दुवैले उनको साथ छोडिसकेका छन् ।

तर यति हुँदा पनि कांग्रेसभित्र सिटौलाले आफ्नो भाग छोडेका छैनन् । उनको गुट मासिएरै गइसकेको भने छैन । पार्टीको वर्तमान केन्द्रीय कार्यसमितिदेखि भ्रातृ संस्थाहरू गठन, सांसदको टिकट वितरण र मन्त्री चयनमा समेत सिटौलाको रोजाइले अर्थ राख्ने गरेको छ । महाधिवेशन र संसदीय दलको निर्वाचनमा सहयोग पाएका सभापतिले देउवाले अहिले पनि सत्ता गठबन्धन र पार्टीभित्रको गठजोड मिलाउने कठिन घडीमा सिटौलाको खोजी गर्छन् ।

केन्द्रीय कार्यसमितिमा सिटौलानिकट उमाकान्त चौधरी अहिले सहमहामन्त्री छन् । केन्द्रीय समितिमा कुन्दनराज काफ्ले, तारामान गुरूङ, धना खतिवडा र शिव हुमागाईं सिटौला पक्षका केन्द्रीय सदस्य हुन् । त्यस्तै, भ्रातृ संस्था गठनमा समेत सिटौलाले भाग छोडेका छैनन् । सिटौलाले कोशी प्रदेशको संसदीय दलको नेता आफूनिकट उद्धव थापालाई बनाएका छन् । जसकारण कोशीको सत्ता राजनीतिमा सिटौलाको भूमिका अर्थपूर्ण रहँदै आएको छ । प्रदेशसभामा सातै प्रदेशमा सिटौलाले आफूनिकटलाई सांसद र मन्त्री बनाउन लबिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array