द्वन्द्व पीडित महिलाहरूले राज्यले अझै आफूहरूलाई न्याय दिन नसकेको गुनासो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ कार्तिक २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । द्वन्द्व पीडित महिलाहरूले राज्यले अझै आफूहरूलाई न्याय दिन नसकेको गुनासो गरेका छन् ।मानव अधिकारका लागि महिला एकल महिला समूहले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सशस्त्र द्वन्द्वका बेलामा विद्रोही पक्ष र राज्य पक्षबाट पीडित भएकाहरूले शान्ति प्रक्रियाको दुई दशक हुन लाग्दा पनि आफूहरूले न्यायका लागि अझै लडाई गरिरहेको बताएका हुन् । अन्तरक्रियामा तत्कालीन माओवादी युद्धमा होमिदा घाइते भएका अछामका खगेन्द्र भण्डारीले शरीरभरि गोलीको छर्रा बोकेर न्यायका लागि नेताको घर घर धाउँदा पनि सुनुवाई नभएको दुखेसो व्यक्त गर्नुभयो ।

नुवाकोटकी विमला रिमालले नेपाल प्रहरीमा कार्यरत आफ्ना श्रीमानलाई तत्कालीन माओवादीले बेपत्ता पारेपछि परिवारमा बालबच्चाको लालनपालन, शिक्षादीक्षाका लागि सङ्घर्ष गर्नुपरेको र राज्यबाट कुनै सुविधा नपाएको बताउनुभयो । कार्यक्रममा मानवअधिकारकर्मी जीवन शर्माले सशस्त्र द्वन्द्वका बेला महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले उनीहरुलाई राज्यले न्याय दिनुपर्नेमा जोड दिनुभयो । सरकारले सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही पक्ष र सरकार पक्षबाट पीडित भएकाहरूको पहिचान गरी उनीहरुलाई सेवा सुविधा प्रदान गर्न स्थानीय तहलाई नै जिम्मा दिने गरी राष्ट्रिय कार्ययोजना अन्तिम तीन वर्षका लागि तयार गरेको एक वर्ष बितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array