विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौँ,  संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना टोलीमार्फत देशको छवि उँचो बनाउँदै विश्वव्यापी मानव अधिकारका लागि नेपाली शान्ति सैनिकको योगदान उच्च बन्दै गएको छ । शान्ति स्थापनामा नेपाली सैनिक विश्वमा लोकप्रिय बन्दै गएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ । उहाँले विश्वशान्ति स्थापनामा नेपाल महत्वपूर्ण साझेदार रहेको र यो साझेदारी युगौँसम्म कायम रहने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकमा नै उहाँले प्रस्ट पार्नुभएको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि संयुक्त राष्ट्रसङ्घ दिवस मनाउँदै नेपालको परराष्ट्र नीतिको मार्गदर्शनका सिद्धान्तमा शान्ति र मानव अधिकार रहेको प्रस्ट्याउनुभएको छ ।

विश्वशान्ति र मानव अधिकार संरक्षणमा सैनिक योगदानकर्ताका रूपमा नेपाल दोस्रो स्थानमा छ । नेपालबाट नेपाली सेनातर्फ छ हजार ६४, नेपाल प्रहरीबाट ४४ र सशस्त्र प्रहरी बलका १९४ जना गरी कुल छ हजार २९९ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटिएका छन् । पहिलो मुलुक भने बङ्गलादेश भएको छ ।

सङ्घले प्रकाशित गरेको सूची अनुसार विश्वका १२५ मुलुकले शान्ति मिसनमा सैनिक पठाएका छन् । उच्च १० मुलुकमा नेपाल, बङ्गलादेश, भारत, रुवान्डा, पाकिस्तान, घाना, इन्डोनेसिया, सेनेगल, चीन र इजिप्ट छन् । शान्ति मिसनमा महिला सैनिकतर्फ उच्च योगदान दिने नेपाल विश्वमै एक नम्बरमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । नेपालले विश्वकै सबैभन्दा धेरै ६१२ जना शान्ति सैनिकमा पठाएको छ । पहिलो नम्बरमा रहेको बङ्गलादेशले ५६६ र तेस्रोमा रहेको छिमेकी मुलुक भारतको १२५ जना महिला शान्ति सैनिक रहेका छन् ।

शक्तिशाली मुलुककै कम शान्ति सैनिक

मानव अधिकारको वकालतलाई विश्वव्यापी बनाउने मुलुक नै शान्ति स्थापनाका लागि कमजोर देखिएका छन् । विश्वका शक्तिराष्ट्र मानिएका मुलुक नै विश्वशान्ति स्थापना र वैश्विक मानव अधिकारको प्रत्यक्ष संरक्षणमा कमजोर देखिएका हुन् । एसियाबाट उदाउँदो विश्वशक्तिका रूपमा रहेको छिमेकी मुलुक चीन शान्ति मिसनमा योगदान पु¥याउने मुलुकमध्ये नवौँ नम्बरमा छ । विश्वकै झन्डै आधा जनसङ्ख्या रहेको चीनबाट मात्र दुई हजार २७७ जना शान्ति सैनिक छन् । दक्षिण एसियाको सबैभन्दा ठुलो जनसङ्ख्या रहेको छिमेकी मुलुक भारतको तर्फबाट जम्मा छ हजार ९७ जना शान्ति मिसनमा कार्यरत छन् । संयुक्त राज्य अमेरिकाले मात्र ३५, रुसले ७६, बेलायतले दुई ८२, अस्ट्रेलिया १६९, जर्मनी ५७०, दक्षिण कोरिया ५४२, ब्राजिलले ८१, दक्षिण अफ्रिकाले एक हजार १७० र जापानले चार जना मात्र शान्ति सैनिक पठाएका छन् ।

मानव अधिकारप्रति प्रतिबद्ध नेपाल 

दोस्रो विश्वयुद्धपछिको विश्वको जर्जर अवस्था सुधार्न शान्ति सैनिकको अवधारणा आएको हो । उति बेला युद्धरत क्षेत्रमा आफ्नो देशको सेना पठाउनु भनेको मृत्युको मुखमा पठाउनु हो भन्ने मान्यता राखिन्थ्यो तर नेपालले भने हरेक द्वन्द्वग्रस्त क्षेत्रमा नेपालको अब्बल कार्यसम्पदान गरेका कारण शान्ति मिसनको पहिलो खोजी नेपाली सैनिकको हुने गरेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी बताउनुहुन्छ ।

मानव अधिकारको प्रवर्धनमा सघाउँदै नेपाल सरकारले अब १० हजार शान्ति सैनिक पठाउने तयारी गरेको छ । उहाँले भन्नुभयो, “नेपाली सैनिकको माग उच्च छ, जतिखेर पनि फेरि माग हुने भएकाले हामी थप सैनिक पठाउन सक्ने गरी तयारी अवस्थामा छौँ ।”

मिसनमा लोकप्रिय नेपाल 

संयुक्त राष्ट्रसङ्घको मिसन र नेपालको सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा रूपान्तरण गर्न योगदान पु¥याउनुभएका तत्कालीन ब्रिगेडियर जनरल बालानन्द शर्मा शान्ति मिसनमा नेपाली सैनिकलाई सबैले मन पराउने बताउनुहुन्छ । उहाँको अनुभवमा त्यहाँ पुगेपछि आदेश मान्ने मात्र नभई एक मानिसले अर्को मानिसलाई गर्नुपर्ने व्यवहारमा नेपाली सैनिक पोख्त छन् । स्वभावैले दयालु नेपाली सैनिक कसैको घाउ र पीडा देख्न सक्दैनन् । अरू देशका शान्ति सैनिक आफ्नो देशको आदेश पर्खेर बस्दा नेपाली सैनिक फिल्डका कमान्डरको आदेशलाई सर्वोपरि मान्छन् ।

नेपालको सैनिक कमान्डले पनि त्यो स्वतन्त्रता दिएको सैनिक प्रवक्ता भण्डारी औँल्याउनुहुन्छ । युद्ध क्षेत्रमा रहँदा यहाँको आदेश पर्खिरहनु उचित हुन्न । अवस्था हेरी काम गर्न यहीँबाट तालिममा सिकाएर पठाइएको हुन्छ ।

Gorkhapatra

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array