प्रधानमन्त्री प्रचण्डको एक वर्ष असफल भन्दिनँ, विदेश नीतिमा एकदमै सफल हुनुभयो : भीमसेनदास प्रधान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ पुष २०८०, बुधबार
13 Min Read
Aa

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको एक वर्ष सफल रहेको दाबी गरेका छन् । यो एक वर्षमा प्रधानमन्त्री दाहालले भयंकर ठूला गल्ती केही पनि नगरेको उनको दाबी छ । उनले भने,‘अब बाटो सकारात्मकतर्फ लागेको छ । यो गठबन्धनको सरकार हो । माओवादीले एकथोक भन्छन् । कांग्रेसले अर्को थोक भन्छ । कांग्रेसमा पनि दुई÷तीन वटा कांग्रेस छ । एउटा कांग्रेसे एकथोक भन्छ, अर्को कांग्रेसले अर्कै भन्छ ।’
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा आयोजना गरेको सरकारका सफलता तथा असफलताबारेको समिक्षात्मक साक्षात्कारमा बोल्दै बिडारीले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा दृढताकासाथ कदम चालेको र अब आउने दिनमा यसका सकारात्मक नजिता देखिने दाबी गरे ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले अर्थतन्त्रका सूचकहरु पनि राम्रो देखिएको दाबी गरे । यद्धपी उनले अहिलेको निर्वाचन पद्धतीबारे छलफल गर्नको लागि र संविधान अध्ययन गर्ने एउटा समिति चाहिएको आवयश्कत्ता औंल्याए । उनले भने–‘संविधान कार्यान्वयन कहाँ–कहाँ भयो ? कहाँ–कहाँ भएन ? भनेर गम्भीरतापूर्वक छलफल गरेर अनुसन्धान गर्नुपर्छ भनेको छु । त्यो समितिबाट संवैधानिक आयोगबारे पनि छलफल गर्ने काम हुन्छ । जे दैनिकी कार्य हुनुपर्ने हो, ती राम्रैसँग भएको छ । त्यो प्रगतितर्फ गएको छ । दुर्गतितर्फ गएको भए नारा लगाउनुपर्दथ्यो ।’
यद्धपी उनले यो एक वर्षमा चमत्कार हुने कुरा नभएको पनि टिप्पणी गरे । उनले भने,‘एक वर्षमा सबै चमत्कार हुन्छ भनेर अपेक्षा गर्नुहुँदैन् । अब आजैबाट प्रधानमन्त्रीज्यूको अर्को वर्ष सुरु हुन्छ । अर्को वर्षबाट काम अघि बढ्छ । स्वास्थ्य, शिक्षा, कृषि, श्रमिक, विद्युत, सरकारी निगमलाई तंग्रयाउने कुरामा सरकार सफल भएको छ । सरकारले मरणासन्न सबै निकायलाई व्युँझाएको छ । श्रमिकको जीवनस्तर उचाल्नको लागि काम गरेको छ।’
प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा मुलुकमा सुशासनको अभियान सुरू भैसकेको उल्लेख गर्दै उनले अब छिट्टै भ्रष्टाचारलगायतका काण्ड निश्कर्षमा पुग्ने पनि विश्वास दिलाए । उनले भने,‘अहिले विभिन्न काण्ड अदालतमा पुगेको छ । यत्ति काम कसैले गरेको थियो त ? सयही रकारले नक्कली भुटानी शरणार्थी प्रकरण खोतलेको हो । सुनकाण्ड, ललिता निवास सबैमा फाइल खोलेको हो । विकास निर्माण त अमेरिका, बेलायतलाई पनि पुगेको छैन् । नेपाल अहिले गरिब भएको हो र ? म कक्षा ९ मा पढ्दादेखि नै ऋण लागेको थियो । नेपालको हावापानी राम्रो छ । तर, यो देशका शासक र सत्ता बेठिक छ । अब के गर्ने त ? एक वर्षमा गरिबबाट ह्वात्त धनी हुन्छ र ? जादु हुन्छ त ? हुँदैन नि, समय लाग्छ ।’
बिडारीले असली रुपमा नेपाल स्वतन्त्र भएको ०७२ मा संविधान जारी भएपछि रहेको सुनाए । उनले भने,‘यही ८ वर्षदेखि रहेछ । त्यो भन्दा अघि नेपालमा दलाल र एजेन्टहरुले शासन गरिरहेका थिए । यो ८ वर्षमा पनि अझै राम्रो हुनुपर्ने थियो । तर, जति उपलब्धि हाँसिल गर्यौं, त्यो अपर्याप्त भयो । खासमा हाम्रो निर्वाचन प्रणालीमा समस्या छ । चुनावभन्दा अघि गठबन्धन गर्नु गलत हो ।’
बिडारीले संविधान संशोधनको कुरा उठाउनु जायज भएको भएपनि अब संविधान बदल्ने कुरा र प्रतिगामी व्यवस्थातिर जाने कुरा नगर्नको लागि अपिल गरेका छन् । उनले यो एक वर्षमा भएका केही गल्तीहरुको पनि चर्चा गरे । आफूले रिगल ढकाललाई आममाफी दिन नहुने भनेर भनेको स्मरण गराउँदै उनले भने,‘मैले यो गम्भीर गल्ती हुन्छ भनेको थिएँ, तर अदालतले पछि करेक्सन गरेको छ । यस्तै, सांसदहरुलाई पाँच करोड दिने भनियो, त्यसमा पनि मेरो विरोध थियो । नेताहरुले सुनेनन् । पछि अदालतबाट रोकियो ।’ बिडारीले सरकारको यो एक वर्षमा उधुम र उत्पाद केही हुनेवाला थिएन भन्नेमा सचेत नागरिकहरु रहेको सुनाए । तर, जे काम भएको छ त्यो सकारात्मकतर्फ गएको उनको दाबी छ । उनले भने,‘केही–केही अपवादबाहेक, जे काम भएका छन् ती सकारात्मकतर्फ अघि बढेका छन् ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री पुष्पकमल दाहाल गिरिजाप्रसाद कोइरालापछिको सफल रणनीतिकारको रुपमा देखिएको टिप्पणी गरेका छन् । उनले संसद्मा ३२ सिटसहित तेस्रो दल हुँदापनि सरकारको नेतृत्वमा पुग्नु र एक वर्ष टिक्नु नै प्रचण्डको लागि सफलता भएको दाबी गरे ।
उनले भने,‘यो एक वर्षमा सरकारको समिक्षा भन्ने कुरा, प्रधानमन्त्रीले एक वर्षको प्रगति विवरण सुनाउने भयो, खासगरी सरकारको त पाँच वर्षको योजना हुन्छ । टार्गेट खडा गरिएको हुन्छ । बरु, त्यसको मध्यावधि समिक्षा हुन्छ त्यो पनि अढाई वर्षमा हुन्छ । अहिले एक वर्षको बारेमा बोल्दाखेरि सबभन्दा पहिलो कुरा प्रधानमन्त्री प्रचण्ड सफल हुनुमा अहिलेसम्म प्रधानमन्त्री रहिरहनु हो । ३२ सिट भएर पनि उहाँले एमाले र कांग्रेसकै केन्द्रविन्दुमा रहेर काम गर्नु नै सफलता हो । उहाँ कुशलत रणनीतिकार हो । गिरिजाबाबुपछि राजनीतिमा चतुर्याई र छलछाम गरेर काम गर्ने प्रचण्ड नै हो ।’
उनले कांग्रेस पहिलो र एमाले दोस्रो दलको रुपमा रहँदापनि प्रचण्डले तेस्रो दलको रुपमा आफूलाई राजनीतिको केन्द्रविन्दुमा राख्न सक्नु सफलताको चित्रण गरे । उनले भने,‘अहिले प्रचण्डजी नेपालको राजनीतिको केन्द्रविन्दुमा हुनुहुन्छ । प्रचण्डको आशय र उद्देश्य राम्रो छ । १० वर्षको जनयुद्धपछि मुलुकलाई शान्तिको बाटोमा ल्याउनको लागि गिरिजाबाबुले पहल गर्नुभयो ।’ प्रधानले माओवादीलाई मूलधारको राजनीति र शान्ति प्रक्रियामा ल्याउनको लागि भारतको दिल्लीमा गिरिजाबाबुले बाबुराम र प्रचण्डसँग भेटेका कुरा पनि स्मरण गराएका थिए।
प्रचण्ड सरकारको एक वर्षको मुल्यांकन गर्दा आफूले प्रधानमन्त्री प्रचण्डमा अहिलेको व्यवस्थाबारे चिन्ता देखेको सुनाए । उनले भने,‘प्रचण्डजीमा ठूलो चिन्ता छ । कतै यो व्यवस्था खतरामा पर्छ कि भनेर, एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्नुको कारण पनि त्यही हो । केपी ओलीले दुई दुई पटक संसद् विघटन गर्नुभयो । पछि उहाँले संसद् विघटनको बचाउ गर्नुभयो । अहिले कांग्रेस सरकारमा रहनुको प्रम्ुख कारण प्रचण्ड हो ।’
नेता प्रधानले अहिले नेपाली राजनीतिमा महाभारतजस्तो देखिएको टिप्पणी । ‘कतै यो संविधान नै डिरेल होला कि भनेर प्रचण्डमा चिन्ता छ’–उनले भने,‘तर, केही गरौं भन्ने कुरा प्रचण्डमा छ । उहाँले राम्रो प्रयास गर्नुभएको छ । प्रयास कार्यान्वयन गर्ने कुरामा प्रचण्ड सफल देखिनुभएको छैन् । भुटानी शरणार्थी प्रकरणमा पार्टीका शीर्ष नेताहरु जेलमा राखेको अवस्था छ । सुन काण्डमा प्रचण्ड सरकार सफल भएको छ । भुटानी शरणार्थी प्रकरणमा पनि प्रचण्डले प्रयास गरेकै हो । एनसेल काण्डपनि आएको छ । अहिले युवाहरु आक्रान्त छन् । नागरिकता लिन पनि दुःख छ । अब सुदृढ सरकार दिनुपर्छ । सुशासनको सरकार दिनुपर्छ । प्रचण्डको खास काम गर्ने सो छ । उहाँ एउटा रफ्तारमा हुनुहुन्छ । केही गरौं भन्ने हुटुहुटी छ । कांग्रेसले असहयोग गरेको पनि छैन् ।’
उनले मन्त्रिमण्डल भनेको आलोपालोजस्तो रहेको सुनाए । उनले भने,‘आफ्नो दुहुनो सोझ्याउने कुरा रहेछ । प्रचण्ड र गिरिजाबाबु एकै सिक्काका दुई पाटा हुन । अब त्रिभुवन विश्वविद्यालयमा भिसी बनाउने कुरा पनि आयो । मैले त प्रधानमन्त्रीलाई नै कलेजको कार्यक्रममा बोलाएर अब पार्टीको झण्डा लिएर विश्विद्यालयमा बस्ने कुरा हटाउनुपर्छ भनेको थिएँ । पार्टीको झण्डा लिएर चलाउन दिनुहुन्न भनेको हुँ । अब त्यसमा उहाँले हुन्छ भन्नुभएको थियो । उहाँले आफ्नो नाम कमाएर जानसक्ने अवस्था रहन्छ, यदि बोलेअनुसार काम गर्नुपर्छ ।’
उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई यो एक वर्षको कामको समिक्षा गर्दा असफल भन्न नसक्ने बताए । उनले भने,‘यो एक वर्षको काम हेर्दा म उहाँलाई असफल भन्दिनँ । काम सन्तोषजनक छ । संसारभरि नेपाललाई प्रचण्डले चिनाउनुभयो । युएनका महासचिवलाई नेपाल ल्याउनुभयो । कोप–२८ मा जानुभयो र नेपालको मुद्दा जोडदार रुपमा उठाउनुभयो । अहिले वातावरणको विषयमा सरकार एकदमै सफल भयो । वैदेशिक नीति सन्तुलित छ । भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुभएको छ ।’
कार्यक्रममा राजनीतिक विश्लेषक ः प्रा.डा. सुरेन्द्र केसीले मुलुकमा विद्यमान बेथिति र विकृतिबारे भण्डाफोर गरेका छन् । उनले जताततै बेथिति र राजनीतिमा पनि नातावाद र कृपावाद हाबी भएको टिप्पणी गरे ।
उनले विश्वविद्यालयमा राजनीतिक भागबण्डा नहोस भनेर आफू सुरुदेखि नै लागिपरेको बताए । उनले भने,‘विश्वविद्यालयपनि चार वटा बनाऔं । १७ वटा बाट घटाऔं । दूतावास र नियोग पनि अहिले ४० वटा छन् । ती अत्यन्तै खर्चिलो छन् । ती पनि घटाएर २० मा ल्याऔं । संघीयता महँगो भयो भन्ने कुरा आएको छ । अहिले एक खर्ब ७१ अर्ब त तलबमात्रै जाँदो रहेछ।’
केसीले विभिन्न काण्ड र ती काण्डमा दलहरुको कसरी आवद्धता छ भन्नेबारे पनि प्रकाश पारेका थिए। उनले भने,‘अहिले विभिन्न काण्ड आएका छन् । तीमध्ये रक्तचन्दन, सुनमा माओवादी हुँदो रहेछ । मानव बेचविखन, साधारण ठेक्का पट्टामा कांग्रेस हुँदो रहेछ । गोकर्ण र ओम्नीको नाम आउँदा एमाले हुँदो रहेछ । एनसेलको बास्तविक खेल अब सुरु हुन्छ । यो देशमा गलत दिशाबाट काम हुँदो रहेछ भन्ने कुरा देखिँदैछ । अहिले एमसिसी कहाँ छ ? भित्रभित्र के हुन्छ ? तपाईँ÷हामीलाई थाहै छैन् ।’ केसीले नेपालमा लोकतन्त्र ल्याईएपनि यसको असल आचरण नगरिएको टिप्पणी गरे । उनले भने,‘लोकतन्त्रलाई हामीले ल्याऔं मात्रै, आचरण र अभ्यास गरेनौं । यही नै हाम्रो दुर्भाग्य हो ।’
नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद विशाल भट्टराईले प्रचण्ड सरकारको एक वर्ष असफल भएको दाबी गरे । उनले भने,‘सरकारको एक वर्षको मुल्यांकन गर्दा जनतामा उत्साह सिर्जना गर्ने कुरा प्रधान हो, तर यो सरकारले उत्साह फैलाउन सकेन । एक वर्षको दौरानमा जनतामा निराशा फैलियो । एक जना उटपट्याङ मान्छेले म पूरानो व्यवस्था फर्काउँछु भन्छ । तर, सरकार हेरेरमात्र बस्छ ।’
अहिले मुलुकको अर्थतन्त्र तहसनहस रहेको उनको दाबी छ । उनले भने,‘कर्मचारीलाई तलब खुवाउन आन्तरिक वा बाहृय ऋण लिनुपर्ने अवस्था देखिएको छ । राजश्वको लक्ष्यभन्दा कम रकम उठेको छ । सरकार निर्माण व्यवसायीलाई भुक्तानी दिनसक्ने अवस्थामा छैन् । आन्तरिक रुपमा अर्थतन्त्र तहसनहस छ । सहकारी काण्डमा ठूला मान्छे मुछिएका छन् । बचतकर्ताहरु न्यायको भीख खोज्दैछन् । अहिले ग्यालेक्सी फोर–के बन्द भयो भन्ने आएको छ । अढाई वर्षको अवधिमा यो देशमा एउटा पनि नयाँ परियोजना सुरु भएको छैन् ।’
उनले सुशासनको क्षेत्रमा पनि सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । उनले भने,‘सुशासनको क्षेत्रमा सरकारले के काम गर्यो त ? ज्यान मारेकाहरु आममाफी दिईयो । तर, सर्वोच्च अदालतले न्याय दियो । संक्रमणकालिन न्याय टुँगो लगाउनको लागि अहिले के देखिँदैछ छ भने, हिजो मानवताविरुद्धका गम्भीर अपराधमा पनि उन्मुक्ति दिन खोजिँदैछ। एमाले गम्भीर अपराधमा उन्मुक्ति दिन नहुने पक्षमा छ । टिआरसी टुँगो लगाउने कुरामा एमाले पीडित र न्यायको पक्षमा उभिन्छ ।’
प्रधानमन्त्री प्रचण्डको एका वर्षमा सफलताको कुरा गर्दा सत्ता गठबन्धन एक वर्षसम्म जोगाउनु नै मुख्य सफलता रहेको उनको दाबी छ । उनले भने,‘यो सरकारको सकारात्मक काम गठबन्धन जोगाएको छ । बढा सुरक्षित साथ जोगाएको छ । एमाले सरकार ढाल्न लाग्दैन् । हामी सरकार बनाउने वा गिराउने पक्षमा छैनौं ।’ उनले सरकारले विभिन्न काण्डको कुरा गरेर सस्तो लोकप्रियता हाँसिल गर्न खोजेको र ती काण्डमा कतै एमाले भेटिन्छ की भनेर पाना पल्टाएपनि कतै नभेटेको टिप्पणी गरे । उनले भने,‘अहिलेको सरकारलाई खुलेआम चूनौति छ, एमाले कतै मुछिएको छ भने सरकारले कारबाही गर्नुपर्यो नि त । ती सबै फण्डा थिए । एमालेको सरकारले राम्रो काम गरेको छ । बदनामी गर्ने काम भयो । जति पनि फाइल खोलिए, हरेक पानामा अनि शब्द–शब्दमा सरकारले त एमाले खोजेको हो । जता पल्टायो सत्ता गठबन्धन मान्छे देखिन्छन् । माओवादी देखिन्छन् । अहिले गृहमन्त्रीको हुँकार पनि बन्द भयो । अहिले सल्याकसुलुक् हरायो ।’

 

प्रतिक्रिया दिनुहोस्

Array