हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ माघ २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं, कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ । हेटौँडा–९ मा रहेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको हो । कोइला सप्लायर्सलाई बक्यौता भुक्तानी गरेपछि पुनः कोइला आपूर्ति सुचारु भएपछि उद्योग सञ्चालनमा आएको उद्योगका महाप्रबन्धक वसन्त पाण्डेले जानकारी दिनुभयो । उद्योगले कोइला सप्लायर्सलाई दिनुपर्ने रकम तिर्न नसक्दा कोइला आपूर्ति रोकिएपछि सिमेन्ट उद्योग बन्द भएको थियो । विगत केही समयदेखि लगातार घाटामा रहेका कारण उद्योगसँग नगद अभाव भए पनि मौज्दात सिमेन्ट बिक्री गरेर जुटाएको रकमले कोइला सप्लायर्सलाई भुक्तानी दिइएको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो ।

चार वर्षदेखि लगातार घाटामा चलिरहेको उद्योग समय–समयमा कोइला अभाव र उपकरण बिग्रिएर बन्द हुने गरेको छ । चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटा पूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उहाँको भनाई छ । नयाँ मेसिन जडान नगरेसम्म सधैँ उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

दैनिक ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योगबाट लामो समय उत्पादन नहुँदा मौज्दात सिमेन्ट बिक्री गरेर त्यसबाट प्राप्त रकमले कोइला सप्लायर्सहरूलाई भुक्तानी दिएको उहाँले बताउनुभयो । पाण्डेका अनुसार चालू आर्थिक वर्षमा उत्पादन भएको २ लाख ४९ हजार ४५६ बोरा सिमेन्टमध्ये करिब १ लाख बोरा सिमेन्ट अझै मौज्दात छ । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array