डेनमार्कको राजधानी कोपनहेगनमा चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं, युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ । कोपनहेगनको मुटुमा रहेको रेस्टुरेन्ट नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो । डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले बैशाख २९ गते शनिबार एक कार्यक्रमका बीच प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको थियो ।प्रदर्शनीमा चित्रकार यादवका ३२ वटा मिथिला चित्र राखिएका थिए । ती चित्रहरु नेपालको समाज र संस्कृति झल्किने खालका थिए ।
यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब पचास जना प्रशिक्षार्थी सहभागी थिए । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसँग मिथिला चित्र कोर्न सिकेका थिए ।
नेपालको प्रतिष्ठित राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित चित्रकार यादव ३३ दिवसीय युरोप कला यात्राको क्रममा अहिले डेनमार्कमा छिन् । डेनमार्कपछि उनी स्वीडेनको भ्रमणमा जाने बताइएको छ । त्यसपछि उनको गन्तव्य फिनल्याण्ड हुने छ । त्यहाँ एनआरएनए फिनल्याण्डको आयोजनामा चित्रकार यादवको अर्को अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जेठ ६ गते सम्पन्न हुनेछ ।
यसअघि चित्रकार यादवको अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्र्यान्कफर्ट सहरमा बैशाख ८ गते आयोजना गरिएको थियो । नेपाली समाज जर्मनीको आमन्त्रण र आयोजनामा चित्रकार यादवका मिथिला चित्रहरुलाई एक दिवसीय प्रदर्शनीमा राखिएको थियो । बैशाख ६ गते युरोप यात्रामा निस्किएकी चित्रकार यादव जेठ ८ गते नेपाल फर्किने कार्यक्रम छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array