काठमाडौँ, जेठ १ गते । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो ।
यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसदमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको छ । कांग्रेसले यसअघि सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा अवरोध गर्दै आएको थियो । कांग्रेस संसदीय दलको मङ्गलबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सङ्घीय संसद्को आज अपराह्न ३ बजे बस्ने संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुने कार्यसूची छ कांग्रेसले नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूचीपछिको छलफलमा भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक सञ्चालन हुन नदिने जनाएको छ । कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसमेत सहकारीको रकम अपचलनमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्