अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको दमनको भत्र्सना गर्दै न्यायोचित माग पुरा गर्न आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं,  पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग गर्दै विगत दुई हप्तादेखि निरन्तर काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकड भएको छ । धरपकडमा अपाङ्गता भएका केही व्यक्तिहरु घाइते भएका छन् । आन्दोलन संयोजक विकास थापा लगायत करिब दुई दर्जन अपाङ्गता भएका व्यक्तिहरु पक्राउ परेका छन् । अपाङ्गता भएका व्यक्तिहरुको संवेदनशीलतामाथि ख्यालै नगरी भएको यस प्रकारको दमन र धरपकडको नेपाली कांग्रेस घोर भत्सर्ना र निन्दा गर्दछ ।

विगत केही महिना अघि दीपक भण्डारी सहित अपाङ्गता भएका व्यक्तिहरूको धर्ना र आन्दोलन पश्चात नेपाल सरकार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले सहमति गरिसकेको सहयोगी तथा सामुदायिक सेवा सम्बन्धी व्यवस्था कार्यान्वयनको माग गर्दै विगत २ हप्तादेखि पुन अनसनमा रहेका कारण स्वास्थ्य अवस्थामा समेत जोखिम बढिरहेको तर्फ नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

नेपाल सरकार आफैले सहमति गरेको तर कार्यान्वयन नगरेको सन्दर्भमा कार्यान्वयनको माग गर्दै अनिश्चितकालिन अनसनमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको न्यायोचित माग तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न, शान्तिपूर्ण सडक आन्दोलनका क्रममा पक्राउ परेका अपाङ्गता भएका व्यक्तिहरूलाई तत्काल रिहाइ गर्न र घाइतेहरुको स्वास्थ्योपचारको व्यवस्था गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array