सकारको नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैनः एमाले नेता तामाङ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २ जेष्ठ २०८१, बुधबार
11 Min Read
Aa

काठमाडौं,  नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य अमनलाल मोदीले सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को गतिरोध अन्त्यका विषयमा दलका नेताहरुसँग धारणा लिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रम प्रगतिशील रहेको बताएका हुन् ।
‘सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको छ । यो समग्र नेपाली जनताको लागि हो । माओवादीले ल्याएको, अर्थात माओवादीको नेतृत्वमा सरकार भएको या सत्ता समीकरणमा भएका राजनीतिक दलको मात्रै होईन ।’ उनले भने,‘सम्पूर्ण नेपाली जनताको अधिकारको कुरामा अहिलेको सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । यो निकै प्रगतिशील छ ।’
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई अन्य राजनीतिक दलहरुले आग्रह र पूर्वाग्रहबाट बाहिर रहेर सहयोग गर्नुपर्ने उनको भनाइ छ । उनले सरकार र प्रतिपक्षबीच अनेकन समस्या र असमझदारी भएपनि ती समस्यालाई सम्बोधन गर्न दुवैपक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । कांग्रेसले संसद्को गतिरोध अन्त्य गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
नेता मोदीले संसद् अवरोध गरिराख्दा जनताले प्रश्न उठाउने बताए । उनले संसद् सुचारु गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षबीच छलफल भइरहेको बताए । संसद्को गतिरोध अन्त्य गर्न दुवै पक्ष सकारात्मक रहेको उनको भनाइ छ । ‘हामीले संसद् धेरै अवरोध गर्यौं भने कानुन निर्माणमा असर पर्छ । धेरै कानुन निर्माण गर्नुपर्ने छ । जनताले प्रश्न उठाउन सक्छन् ।’ उनले भने, ‘सरकारले पटक–पटक छलफल र संवाद गरिराखेको छ । छलफल सकारात्मक पछि छ ।’
समग्रह सहकारीको समस्या समाधान हुनेगरी संसदीय समिति वा उच्चस्तरीय समिति बनाउनुको विकल्प नरहेको उनको भनाइ छ । कांग्रेस व्यक्ति केन्द्रीत समिति बनाउनुपर्छ भनेर लागिपरेको उनले बताए । उनले समग्र सहकारीको समस्या समाधान हुने गरी समिति बनाउँदो जोसुकै दोषी भएपछि अनुसन्धान हुने बताए । ‘समग्र समस्या समाधानको बारेमा समिति बनाउ भन्दा नेपाली कांग्रेसले मानेन । समग्रमा आउँदा उहाँपनि परिहाल्छन् नि । जोसुकै भएपनि छानविन समिति बनेपछि प्रश्न उठेपछि जो पनि परिहाल्छ नि,’– उनले भने, ‘एउटा पात्रलाई मात्र होईन, देशमा रहेका सहकारी समस्यालाई ठीक तरिकाले सम्बोधन गर्नका लागि संसदीय छानविन समिति बन्नुपर्छ भनेर सरकार अहिले बोलिरहेको छ । तर, प्रतिपक्षी नेपाली कांग्रेस रवि लामिछानेको बारेमा मात्रै समिति बनाऊँ भनिरहेको छ ।’
साथै, चाडैँ नै संसद्को गतिरोध अन्त्य हुने उनको भनाइ छ । उनले संसदीय राजनीतिमा आफूले खेल्नुपर्ने भूमिका कांग्रेसले बिर्सन नहुने बताए । नीति तथा कार्यक्रमको छलफलमा पनि कांग्रेसले विरोध नगर्ने उनले विश्वास व्यक्त गरे । नेता मोदीले संसद् लामो समयसम्म अवरोध हुँदा जनताको आवाजहरु कुण्ठित हुने बताए ।
सकारको नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैनः एमाले नेता तामाङ
कोदोको घरेलु रक्सी कसैले पोख्दिन खोजे खबरदारी गर्न एमाले नेता तामाङको आग्रह
काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को गतिरोध अन्त्यका विषयमा दलका नेताहरुसँग धारणा लिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीति तथा कार्यक्रममा राम्रा र निकै महत्वपूर्ण कुराहरु समेटिएको बताएका हुन् । उनले एमालेले कुनै बेला जहाज र सुरुङमार्गको कुरा गर्दा खिसिट्युरी गरेको स्मरण गराउँदै आज तिनै कुरालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको बताए ।
‘नीति तथा कार्यक्रममा धेरै खोट लगाउने ठाउँ देखिँदैन । राम्रा कार्यक्रमहरु आएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु जस्तै, जल यातायातलाई प्राथमिकता दिइएको देखिन्छ ।’ उनले भने, ‘हिजो कुनै बेला जहाजको कुरा गर्दा हामी खिसिट्युरी थर्थ्यौं । तर, अब त्यो कुरा कामी कार्यान्वयन गर्नेतिर लागिरहेका छौं । कुनैबेला सुरुङमार्गको कुरा गर्दा खिसिट्युरी गर्थ्यौं, आज सम्पन्न हुँदैछ । राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने कुरालाई नीति तथा कार्यक्रमले बोकेको छ ।’
नेता तामाङले नीति तथा कार्यक्रमले सबै जिल्लाहरुलाई सडक सञ्जालमा जोड्नेदेखि उत्पादन, कृषि, सुशासनलगायतको विषयलाई नीति तथा कार्यक्रमले बोकेको बताए । नीति तथा कार्यक्रले कतिपय कुराहरु बोल्न नसकेको भएपनि समग्रतामा प्रगतिशील र सकारात्मक रहेको उनको बुझाइ छ ।
नीति तथा कार्यक्रममा घरेलु कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने, उत्पादन गर्ने, अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने कुरा समेटिइएको भन्दै उनले यसले रोजगारी बृद्धि गर्ने विश्वास व्यक्त गरे । अहिले कोदोको रक्सीलाई बजारमा बेच्न नदिने, पोखिदिनेलगायतका समस्या रहेको स्मरण गराउँदै उनले मर्चा हालेर बनाएको शुद्ध कोदोको रक्सी कसैले पोख्न वा घोप्ट्याउन खोजेमा नीति तथा कार्यक्रम पढेर सुनाइदिन र खबरदारी गर्नसमेत उनले आग्रह गरे ।
‘नेपाली दिदीबहिनी, आमाहरुले रक्सी बनाएर बजारमा बेच्ने गरेको छ भने त्यसलाई दुषित नबनाउनु होला । त्यसमा अरु कुनै रासायनिक प्रयोग नगर्नुहोला, मर्चा प्रयोग गरेकै कोदोको बनाउनुहोला ।’ उनले भने, ‘त्यसरी बनाएको रक्सीलाई यदि कहीँकतै पोखेको देखियो भने, पोख्न कोही आयो भने हिजो घोषणा गरेको नीति तथा कार्यक्रमको बुँदा पढ्दिनुस्, खबरदारी गर्नुस् । त्यो गर्नुपर्दछ । हाम्रो उत्पादनलाई पोख्ने अधिकार कसैलाई छैन । कोदोको रक्सीको अर्को बाइप्रडक्ट कट खुवाएर बंगुर पालन हुनसक्छ । नेपालले रहेका दिन डेढ लाखसम्म बंगुर हामी चाइना पठाउन सक्छौं । वार्षिक १०÷१२ खर्बको बंगुरको मासु हामी चाइना पठाउन सक्छौं ।’
कांग्रेसले ५६ दिन संसद् अवरोध गर्ने पार्टी एमाले भनेर विगतमा भन्ने गरेको स्मरण गराउँदै उनले उक्त रेकर्ड ब्रेक गर्न खोजेकोमा धन्यवाद दिए । संसद्मा कतिपय विषयहरु गम्भीरतापूर्वक छलफल हुनुपर्ने अवस्था रहेको उनले बताए । नेपाली कांग्रेसलाई साथमा नलिई संक्रमणकालीन न्याय, संविधान संशोधन, निर्वाचन प्रणालीलगायतका विषयमा छलफल र परिवर्तन सम्भव नरहेको उनले बताए । उनले यस विषयमा कांग्रेसले पनि गम्भीरतापूर्वक सोचेर संसद् गतिरोध अन्त्य गर्नुपर्ने उनले बताए ।
सहकारी ठगी प्रकरणमा समग्र सहकारीको समस्या समाधान गर्नेगरी संसदीय छानविन समिति वा उच्चस्तरीय समिति बनाउन सकिने उनले बताए । तर, कुनै व्यक्तिलक्षित संसदीय समिति सम्भव नरहेको उनको भनाइ छ । उनले भने, ‘संसदीय समिति बन्छ । कुन अर्थमा बन्छ भन्दाखेरी सहकारीमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस आउनुपर्यो । त्यसमा हामी सहमत हुन्छौं । संसदीय छानविन समिति वा उच्चस्तरीय समिति जुन बनाए पनि हामी तयार छौं । सहकारीका समग्र समस्याहरुलाई समाधान गर्ने उद्देश्यले समिति गठन गरौं । न कि एउटा कुनै व्यक्तिलाई लक्षित गरेर उसको संलग्नता छ रे भन्ने आधारमा व्यक्ति केन्द्रीत गरेर संसदीय छानविन बन्दैन ।’
‘रवि लामिछाने भएको जिम्मेवारीमा तपाईँ हुनुभएको भए र तपाईँमाथि यस्ता प्रश्न उठ्दा के गर्नुहुन्थ्यो ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिँदै उनले आफू भएको भए प्रश्न उठेपछि पदबाट अलग हुने बताए । ‘व्यक्तिको हकमा प्रश्न उठेपछि के गर्ने हो भनेर व्यक्तिले नै निर्णय गर्ने हो । रविजीको निर्णय मैले गर्न सक्दिँन । किन भने मेरो निर्णय म गर्न सक्छु ।’ उनले भने, ‘उहाँमाथि प्रश्न उठ्यो, उहाँ सरकारबाट अलग भएर छानविन गर भन्ने वा नभन्ने उहाँले बुझ्ने कुरा हो । मेरो हकमा त्यस्तो प्रकरण उठे छानविन गर भनेर म अलग हुनसक्छु ।’
सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन प्रधानमन्त्री लचिलो हुनुहुन्छ, अन्य सत्तारुढ दलले मानेनन्ः कांग्रेस नेता यादव
काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सदस्य रामकृष्ण यादवले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने बताए । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को गतिरोध अन्त्यका विषयमा दलका नेताहरुसँग धारणा लिन आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय छानविन समिति नै आफूहरुको बटमलाइन रहेको बताएका हुन् । सहकारी ठगी प्रकरणमा संसदीय समिति नबनेसम्म सदनको गतिरोध अन्त्य नहुने उनले बताए ।
साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय समिति बनाउन लचिलो रहेपनि अन्य सत्तारुढ दलहरुले नमानेको उनको भनाइ छ । संसदीय समिति बनाउन नमानेर सत्तारुढ दलहरुले अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको उनले बताए । ‘संसदीय छानविन समिति हाम्रो बटमलाइन हो । कांग्रेसले बनाउँछ नै । आज सुन्दैछु–अध्यादेशबाट बजेट ल्याउने रे ।’ उनले भने, ‘प्रधानमन्त्री लचिलो हुनुहुन्छ, सत्तारुढका अन्य पार्टीहरु होईन बनाउन हुँदैन रे ।’
साथै, नेता यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको प्रमाण प्रष्ट नै रहेको बताए । उपप्रधान एवं गृहमन्त्री आफैंले ऋण लिनका लागि आवेदन दिएको, सही गरेको र उनीविरुद्ध विभिन्न निकायमा उजुरी परेको प्रमाण कांग्रेससँग रहेको नेता यादवको दाबी छ । उनले लोकतन्त्रमा आरोप लागेपछि जोसुकैको बारेमा पनि बोल्न पाइने बताए ।
‘सहकारीको पैसा अपचलन भएको छ, त्यो भन्दा अरु प्रमाण के चाहियो र ? सही गरेको प्रमाण आइरहेको छ, सबै ठाउँमा उजुरी परेको छ । व्यक्तिको बारेमा होईन रे, व्यक्तिको बारेमा नबोलौं रे ।’ उनले भने, ‘प्रधानमन्त्रीले नराम्रो काम गरेको खण्डमा बोल्न पाइँदैन र ? मन्त्रीको बारेमा बोल्न पाइँदैन र ? म सांसद छु, मैले गलत गरेँ भने बोल्न पाइँदैन र ? जोसुकै होस्, गलत गरेपछि उसको विरुद्ध बोल्न पाउने हक संविधानले दिएको छ ।’
कांग्रेसले उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध यत्तिकै नबोलेको उनको भनाइ छ । उनले गृहमन्त्रीले कांग्रेसले उठाएको विषय सहज रुपमा स्वीकार गरेर मार्ग प्रसस्त गर्नुपर्ने उनको भनाइ छ । सहकारी ठगी प्रकरण समग्रतामा पनि बन्नुपर्ने र गृहमन्त्रीमाथि पनि बन्नुपर्ने उनको भनाइ छ । सांसद्, मन्त्री भएकै आधारमा कसैले पनि अभियोगबाट उन्मुक्ति पाउन नहुने उनले बताए । ‘समग्रको पनि बनोस्, व्यक्तिमाथि पनि बनोस् न । सांसद् हुँदैमा, मन्त्री हुँदैमा उम्किन पाउने ?’ उनले प्रश्न गरे ।
साथै, सरकारको नीति तथा कार्यक्रमलाई राम्रो भन्न नसकिने उनको भनाइ छ । उनले सरकाले नीति तथा कार्यक्रममा समावेश गरेका कुराहरु बजेटमार्फत सम्बोधन गर्न नसक्ने ठोकुवा गरे । ‘नीति तथा कार्यक्रम आएको छ । कार्यक्रमको लागि कार्यक्रम आएको छ । यसलाई राम्रो भन्ने अवस्था छैन । किनभने जति कार्यक्रमहरु आएको छ, अब आउने बजेटमा समेट्न सकिँदैन र समेटिइदैन,’– उनले भने ।
साथै, नीति तथा कार्यक्रममा सरकारको स्थायित्व र सुशासनको पक्ष नसमेटिइएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य, कृषि, सिचाइँलगायतको विषयलाई प्राथमिकता नदिइएको उनको आरोप छ । जनताको मनोबल बढाउने, आशा र भरोसा बढाउने गरी नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array