प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनु हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ जेष्ठ २०८१, सोमबार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिनुहुनेभएको छ । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । उक्त विश्वासको मतसम्बन्धी पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेश गर्नुहुने सङ्घीय संसद्को आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ ।

सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्माणार्थ प्रस्तुत हुनेछ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मतविभाजनद्वारा हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न आजै बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो । सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट शुरुभएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array