नर्वे-ओस्लोमा नेपाली नाटक ‘गुलाफ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

नेपाली नाटक ‘गुलाफ’ नर्वेको राजधानी ओस्लोमा मञ्चन हुँदैछ । अंग्रेजीमा ‘द रोजः एन अवेकनिङ जर्नी अफ यशोधरा’ नाम दिइएको नाटक ओस्लोको थिएटर मनुमा यही बिहिबारदेखि तीन दिन नियमित मञ्चन हुन लागेको हो । राम हरि ढकालको परिकल्पना, डिजाइन र निर्देशन रहेको नाटक मञ्चनका लागि नेपाली कलाकारको टोली ओस्लो पुगेर तयारीमा व्यस्त छन् । टोलीका कलाकारहरु दिया मास्के, सरित साह, देव न्यौपाने, केदार श्रेष्ठ र उमेश तामाङ नर्वे पुगेका हुन् । निर्देशक ढकालले नेपाली टोलीलाई ओस्लोमा स्वागत गरेका थिए ।

नर्वे सरकारको कला र संस्कृति सम्बन्धि संस्था ‘आर्ट एण्ड कल्चर नर्वे’को सहयोगमा तथा नोर्दिक कल्चर फण्ड र फुक नो नर्वेको साथमा नाटक ‘द रोज’को मञ्चन हुन लागेको हो । नाटकको नर्वे मञ्चनमा नर्वेलीहरु र नर्वेमा रहेका नेपालीहरु दुवैलाई लक्षित गरेर मञ्चन गरिन लागेको हो । यस नाटक थिएटरको ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ जसमा संवाद छैन तर दृश्यहरुले कथा बोल्नेछ । सिद्धार्थ गौतमले आफ्ना प्रश्नहरुको उत्तरको खोजीमा नवजात शिशु राहुल, श्रीमती यशोधरा र राज्य त्याग गरेर गएपछि यशोधरामा परेको मानसिक उतारचढावलाई ‘गुलाफ’ले आफ्नो विषय बनाएको छ ।

त्यस चरम पीडा र बिछोडको कारणले राजकुमार सिद्धार्थकी पत्नी यशोधराभित्र सिर्जित भावनाहरु, विकारहरु र त्यसले पारेको प्रभाव र परिवर्तनहरु नै यो नाट्य प्रस्तुतिको मूल विषय हो । यसमा यशोधराको पीडादेखि जागरणसम्मको आन्तरिक भावनात्मक यात्रालाई शारीरिक भावभङ्गीमार्फत उजागर गर्ने कोशिस गरिएको छ । यस नाटकको दर्शक संयोजन पनि विशेष रहेको छ । ‘द रोज’को मञ्च नाटकघरको बीचमा तयार पारिएको छ । जसमा मञ्चको चारैतिरबाट दर्शकले अवलोकन गर्न सक्नेछन् । नाटक हेर्न एक शोमा बढीमा ६४ जनाले मात्र प्रवेश पाउनेछन् । यस नाटकको गएको पुसमा ठेट्ना आर्ट्सको प्रस्तुतिमा काठमाडौंको मण्डला नाटकघरमा विश्व प्रिमियर गर्दै १४ वटा नियमित मञ्चन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array