मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

ललितपुर,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिनावारी दिवसको सन्दर्भमा आयोजना गरिएको महिनावारी मैत्री विश्व कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । मर्यादित महिनावारी बनाउनका निम्ति महिला मन्त्रालयले निर्देशिका पनि बनाएको भन्दै उहाँले तर त्यसलाई यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको अवस्था नरहेको बताउनुभयो । सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने भन्दै उहाँले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराको रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नका निम्ति सचेतनाका कार्यक्रम बढाउनुपर्ने बताउनुभयो । ‘सामुदायिक विद्यालयहरूमा बिदाको व्यवस्था, प्याड, सरसफाइको अवस्था के छ ती कुराको पनि अनुगमन हुनुपर्छ।

यो प्राकृतिक प्रक्रिया हो । यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘कतिपय ठाउँहरूमा छोरीहरूलाई महिनावारीको बेला घरबाहिर राख्ने प्रवृत्ति छ । घरपरिवारको मुख हेर्न नदिने, भान्सामा जान नदिने जस्ता कुराहरू छन् ।त्यसलाई हामीले जनचेतना फैलाउँदै यो कुरा गलत होइन यो प्राकृतिक प्रक्रिया हो घरभित्रै राख्नुपर्छ भन्ने ढङ्गले हामीले जनचेतना फैलाउन आवश्यक छ ।’ कुरीतिहरूलाई चिर्नका लागि यस्ता अभियानहरूले गलत मान्यताहरूलाई परिवर्तन गर्न मद्दत पुग्ने भन्दै उहाँले नागरिक समाज जस्ता संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

प्याड निर्माण गर्दा केमिकल रहित प्याडहरू निर्माण गरिनुपर्ने भन्दै उहाँले त्यसमा राज्यले पनि जाँच्ने संयन्त्र सक्रिय बनाउने बताउनुभयो । ‘सामुदायिक विद्यालय तथा विभिन्न संघ, संस्थाहरूद्वारा वितरण गरिने प्याडहरूमा विशेष ध्यान दिइनुपर्छ । शरीरसँग प्रत्यक्ष जोडिएको विषय भएकाले प्याड बनाउने कुरामा विशेष ध्यान दिइनुपर्छ’, उहाँले भन्नुभयो । महिनावारी भन्ने कुरा निकै संवेदनशील विषय रहेको भन्दै उहाँले त्यो समयमा महिलाको शारीरिक देखी मानसिक रूपमा समेत संवेदनशील हुने भएकाले यसमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

महिनावारी कुनै फोहर वा नकारात्मक विषय होइन भन्ने कुरा सबैतिर फैलाउन आवश्यक रहेको उहाँको भनाई थियो । महिनावारीको समयमा कार्यस्थलमा बिदाको व्यवस्था गर्नुपर्ने कुरा उठिरहेको भन्दै यस विषयमा केही न केही व्यवस्था गर्न आवश्यक रहेको समेत मन्त्री चौधरीले बताउनुभयो । कार्यक्रम ज्ञान महर्जनको अध्यक्षतामा भएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array