दुखद खबर : जिप र कार दुर्घटना ७ जनाको मृत्यु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ जेष्ठ २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं । हेटौडा र सुर्खेतमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेका थिए ।ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिनुभयो । घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।
यता, भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा कार दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन जना पुगेको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ८ स्थित बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र निजका तीन महिने छोरी अजिता भित्रीकोटी रहेका छन् । नेपालीलाई उपचारका लागि बुधबार राति ७ः४० बजे हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थियो ।यस्तै, दुर्घटनामा परी मृत्यु भएका कारका चालकको पहिचान नखुलेको प्रहरीको भनाइ छ । तीन वटै शव हेटौँडा अस्पतालमा रहेको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नं.को कार बुधबार दिउँसो ४ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा परी घाइते हुनुभएको मनहरी गाउँपालिका ८ स्थित बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवन जिल्ला राप्ती नगरपालिका १ स्थित लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङ मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवै जनाको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
सडकबाट करिब २५० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको सूचनापछि इलाका प्रहरी कार्यालय, भीमफेदीबाट गएको प्रहरी टोलीले कारमा सवार दुई जना महिला, दुई जना पुरुष र एक बालिकालाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array