मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ जेष्ठ २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौं : मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ। नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टीबीच उक्त सहमति भएको हो। उनीहरूबीच संयुक्त सरकार बनाएर मन्त्रालय बाँडफाँड गर्ने सहमति भएको हो।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद शाह र जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले सत्ता समीकरणमा लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि सहभागिता हुने दाबी गरेको छ।

‘मधेस प्रदेशमा निर्माण भएको नयाँ राजनीतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्टाचारलगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छ,’ सहमति पत्रमा भनिएको छ।

सरकारमा सहभागी हुने दलहरूले आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने सरकार गठनका लागि अन्य दलहरूसँग पनि संवाद गर्ने सहमति भएको हो।
हिजोमात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए। यादवले मधेस सरकार जोगाउन कांग्रेस सभापति देउवासँग सहयोग मागेका थिए। देउवाले माधव नेपालसँग समेत मधेस सरकार बनाउन र केन्द्रीय सत्ता समीकरण फेर्ने विषयमा छलफल गरेका थिए।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array