प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा एमालेको असहमति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ जेष्ठ २०८१, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा सहभागी दलबाट एक/एक जना मन्त्री फिर्ता बोलाउन राखेको प्रस्तावमा एमालेले असहमति जनाएको पाइएको छ । सरकारलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टी (जपा)लाई समेटेर मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । तर उनको प्रस्तावमा एमालेका अध्यक्ष केपी ओली असहमत भएको पाइएको हो ।

नाउपा र जपालाई सरकारमा ल्याउने विषयमा प्रचण्डले जेठ २२ गते एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राखे पनि ओली सहमत नभएको एक नेताले बताए ।

‘प्रधानमन्त्रीज्यूले नाउपा र जपालाई सरकारमा ल्याउनका लागि सहयात्री दलहरूसँग छलफल गरिरहनुभएको छ । छलफलको क्रममा एमाले र माओवादीबाट एक/एक जना मन्त्री फिर्ता बोलाउने प्रस्ताव राख्नुभएको थियो । तर एमालेबाट मन्त्री फिर्ता बोलाउने कुरामा ओलीजी सहमत हुनुहुन्न,’ ती नेताले भने । यद्यपि नाउपा र जपालाई सरकारमा कसरी समेट्ने भन्ने विषयमा गठबन्धन दलहरूबिच छलफल जारी रहेको उनले बताए ।

तर एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नाउपा र जपालाई सरकारमा ल्याउने विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताए । सरकारलाई समर्थन गरेका दलहरूलाई कसरी समेट्ने भन्ने विषयमा छलफलकै क्रममा रहेको उनको भनाइ छ । मधेस प्रदेश सरकार गठन भएपछि यस विषयमा थप छलफल हुने उनको भनाइ छ । ‘कुन दलले कसलाई फिर्ता बोलाउने वा नबोलाउने विषयमा पछि छलफल हुन्छ । अहिले कुनै निष्कर्षमा पुगिएको छैन’, उनले भने ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले सरकार पुनर्गठनको विषयमा ठोस निष्कर्ष नआएको जानकारी दिए । सरकारमा सहभागी दलहरूबिच छलफलकै क्रममा रहेकाले अहिले केही भन्न नमिल्ने उनको भनाइ छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array